विदेशस्थित नेपालीलाई मताधिकारको अधिकार दिन एकता समाजको माग

काठमाण्डौ, चैत्र ३० गते । अन्तर्राष्ट्रिय नेपाली एकता समाजले विदेशमा रहेका नेपालीलाई नेपालमा मतदानको व्यवस्था गर्न माग गरेको छ । जुन देशमा नेपाली छन् त्यही ठाउंबाट मताधिकारको अधिकार पाउनु पर्ने अन्तर्राष्ट्रिय नेपाली एकता समाजको माग छ ।

राष्ट्रिय जनमोर्चा निकट एकता समाजले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएको हो ।
अन्तर्राष्ट्रिय नेपाली एकतासमाजले वैदेशिक रोजगारीमा जाने नेपालीका समस्या समेटेर प्रधानमन्त्रीलाई ११ बुँदे ज्ञापन पत्र बुझाएको छ ।

अन्तर्राष्ट्रिय नेपाली एकता समाजले सर्वोच्च अदालतले २०७५ सालमा विदेशस्थित नेपालीलाई सबै स्तरको चुनावमा मताधिकारको व्यवस्था गर्न आदेश दिएको थियो । सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्न अन्तर्राष्ट्रिय नेपाली एकता समाजका नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराएका छन् ।

अन्तर्राष्ट्रिय नेपाली एकता सुमाजको ज्ञापन पत्रमा ‘हाम्रो सङ्गठन आगामी चुनावमा भारत, सार्क मुलुक र अन्य देशमा रहेका नेपाली नागरिकलाई सम्बन्धित देशबाटै मताधिकारका साथै सम्बन्धित देशमा रहेका नेपाली मतदाताको अनुपातमा नेपालको व्यवस्थापिकामा समानुपातिक प्रतिनिधित्वको व्यवस्था गर्न माग उल्लेख गरिएको छ ।

एकता समाजले पहिलो संविधान सभा निर्वाचनको सन्दर्भमा मतदाता नामावली संकलन गर्ने समयदेखि नै भारतसहित विदेशस्थित नेपाली नागरिकका लागि मताधिकार र समानुपातिक प्रतिनिधित्वको माग गर्दै आएको थियो ।

निर्वाचन आयोगले पछिल्लो चुनावको सन्दर्भमा विदेशस्थित नेपालीको मतदाता नामावली संकलन गर्न बजेट छुट्याउन माग गरेको थियो तर सरकारले बजेट विनियोजन गरेन ।

ज्ञापन पत्र बुझाउन अन्तर्राष्ट्रिय नेपाली एकता समाजका अध्यक्ष शक्तमान बुढाथोकी, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, उपाध्यक्ष दुर्गा पौडेलसहितको टिम प्रधानमन्त्री कार्यालय पुगेको थियो ।
भारतस्थित नेपाली एकता समाज र अन्तर्राष्ट्रिय नेपाली एकता समाजले सबै भन्दा पहिला विदेशस्थित नेपालीलाई मताधिकारको अधिकार दिन सरकारसंग माग गरेका थिए ।