सम्झनामा मदन र आश्रित

बुटवल, जेठ ३ गते । आज मदन आश्रित स्मृति दिवस । नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको दिन ।
२०५० जेठ ३ गते दासढुंगा, चितवनमा रहस्यमय जीप दुर्घटना परी दुवै नेताको निधन भएको थियो ।

त्यही दिनको सम्झनामा आज देशैभर मदन–आश्रित स्मृति दिवस मनाईदैछ । नेकपा एमाले र उसका भातृ संगठनहरुले बिभिन्न कार्यक्रम गरी मदन–आश्रितको सम्झना गरी दिवस मनाउने छन् । अबको शताब्दीमा बुलेटबाट होइन, ब्यालेटबाट सत्ता कब्जा गर्नुपर्छ भन्ने नयां कम्युनिष्ट मान्यता स्थापित गराउने नेतालाई सम्झना गर्ने दिनको रुपमा पनि आजको दिनलाई लिईन्छ ।

बन्दुकको नालवाट मात्रै सत्ता कब्जा हुन्छ भन्ने पराम्परागत कम्युनिष्ट मान्यतालाई चिर्दै जनताको मतद्धारा सत्ता कब्जा हुन्छ भन्ने मान्यताका साथ जनताको बहुदलीय जनबाद (जबज) सिद्धान्तका प्रतिपादक नेता हुन् स्व. नेता मदन भण्डारी ।

मदन भण्डारी र जीवराज आश्रित रहस्मय तरिकाले गाडी दुर्घटनामा परी निधन भएको ३० वर्ष हुंदा पनि अझै उक्त घटनाबारे सत्यतथ्य बाहिर आउन सकेको छैन ।
आफ्ना दुवै शिर्ष नेता गुमाएको एमालेले पटक– पटक सरकारको नेतृत्व गरेपनि उक्त दासढुंगाको यथार्त बाहिर ल्याउन सकेन ।

दासढुंगा घटनाको छानविन गरी सत्यतथ्य बाहिर ल्याउन ठूलो माग भएपनि उक्त घटना अहिलेसम्म रहस्यमय छ ।