महासंघको शुद्धीकरण मापदण्ड पूर्णरुपमा पालना गर्न सहमत

बुटवल, जेठ ५ गते । नेपाल पत्रकार महासंघले अगाडि सारेको सदस्यता शुद्धीकरण मापदण्ड पूर्णरुपमा पालना गर्न रुपन्देहीका पत्रकार सम्बद्ध संगठनहरु सहमत भएका छन् ।
नेपाल पत्रकार महासंघ रुपन्देहीले सदस्यता शुद्धीकरण मापदण्ड कार्यान्वयनका सन्दर्भमा महासंघका पूर्वअध्यक्ष, सल्लाहकार, प्रदेश समिति एंव पत्रकार सम्बद्ध संगठनका प्रतिनिधिहरुको सहभागितामा शुक्रकार सम्पन्न बैठकमा शुद्धीकरण मापदण्ड पूर्णरुपमा कार्यान्वयन गर्ने प्रतिवद्वता जनाएका हुन् ।

बैठकमा नेपाल पत्रकार महासंघको नयां सदस्यता र सदस्य नविकरण सम्बन्धमा शुद्धीकरण मापदण्ड २०८० पूर्णपालना गर्ने प्रतिबद्धतासहित रुपन्देहीमा कार्यान्वयन गर्ने निर्णय भएको महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले जानकारी गराए ।
त्यस्तै बैठकले नेपाल पत्रकार महासंघको नयां सदस्यता शुद्धीकरण मापदण्ड अनुसार शुद्धीकरणका लागि सदस्यहरुको सूची तयार गर्न उपाध्यक्ष विश्वास ढकालको संयोजकत्वमा ५ सदस्यीय उपसमिति गठन गरिएको छ ।

सदस्यहरुमा उपाध्यक्ष अमृता अनमोल, सचिव विनोद परियार, कोषाध्यक्ष सञ्जय सौगात र सहसचिव विरेन्द्र कुंवर छन् । उपसमितिले शुद्धिकरणमा पर्ने सदस्यहरुको सूची तयार पारेपछि पुनः बैठक बसेर सामूहिक रुपमा निर्णय गरिने निर्णय भएको छ ।
बैठकमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्काले पत्रकारिता निष्कृय भएका, स्थायी रुपमा सरकारी सेवामा रहेका र मूल पेशा पत्रकारिता नबनाएकाहरुले स्वघोषणा गर्दा महासंघले सम्मान गर्ने बताए ।

बैठकमा नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष डा. बालकृष्ण चापागाई, पूर्व अध्यक्ष हरि लम्साल, पूर्व अध्यक्ष डिआर घिमिरे, पूर्व अध्यक्ष शेरबहादुर केसी, निवर्तमान अध्यक्ष यानेन्द्र जीसी, सल्लाहकाहरु दिनेश पाण्डे, माधव ढुंगानाले शुद्धिकरणलाई पूर्णरुपमा पालना गर्नुपर्ने प्रतिवद्वता जनाए ।

नेपाल प्रेस यूनियन रुपन्देहीका सभापती कविन्द्र नेपाल, प्रेस चौतारी नेपाल रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेल, प्रेस सेन्टर रुपन्देहीका अध्यक्ष विष्णु पोखरेल, समाजवादी प्रेस संगठन रुपन्देहीका उपाध्यक्ष उषाकिरण पन्थ, जनपत्रकार संगठन रुपन्देहीका अध्यक्ष विनोद खनाल, प्रगतिशिल पत्रकार संघ, नेपाल रुपन्देहीका सचिव टेकराज भुसालले मूलपेशा पत्रकारिता नबनाएकाहरुलाई सदस्यताबाट हटाउंदा आफुहरुको अवरोध नहुने धारण राखे ।

बैठकले शुद्धीकरण मापदण्डमा परेका सदस्यहरुलाई स्वघोषणा गरी सदस्यता त्याग गर्न अनुरोध गरेको छ । सदस्यता त्याग गरी स्वघोषणा गर्ने सदस्यशरुलाई सम्मान गर्ने नेपाल पत्रकार महासंघले बताएको छ ।