बुटवल, जेठ ६ । पर्यटन प्रवद्र्धन र समृद्धिका लागि बुटवलमा शनिबारदेखि दुई दिने पहिलो राष्ट्रिय पार्क सम्मेलन सुरू भएको छ । सम्मेलनको पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले उद्घाटन गरे ।

बुटवलको मणिमुकुन्द सेन उद्यान (फुलबारी) मा सुरू भएको सम्मेलनमा बोल्दै नेता पौडेलले मुलुकको आर्थिक अवस्था संकटतर्फ धकेलिदै गइरहेकोले यसको निकासमा सरकारले ध्यान दिन नसकेको बताए । ‘मुलुकमा यतिबेला आर्थिक संकट गहिरिँदै गएको छ’ पौडेल, ‘राजश्व लक्ष्यभन्दा कम संकलन भएको छ’ पौडेलले भने, ‘तरलता अभाव छ । लगानीको लागि बजेट छैन । यसले देशलाई संकट जानबाट सरकारको ध्यान पुग्न सकेको छैन ।’ पौडेलले भ्रष्टचार अन्त्य गरी सुशासन कायम गर्न सबै एकताबद्ध हुनुपर्ने बताए ।

गुरुयोजना बनाएर हरेक शहरमा एउटा पार्क निर्माण आवश्यक बनाउनुपर्ने भन्दै पौडेलले आवश्यक बजेट ल्याउनको लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता समेत जनाए । बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले पर्यटन, रोजगारी र सांस्कृतिक तथा पर्यावरण संरक्षणमा पार्कहरुको महत्वपूर्ण योगदान रहेको बताए ।

समुदायको सहयोग र व्यवस्थापनमा व्यवस्थित रुपमा सञ्चालनमा आएका उनको भनाइ छ । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज बुटवलमा थप पार्कहरु निर्माण गर्ने सोचका साथ आफू अगाडि बढेको बताए । पाण्डेले पार्कको विकास र सम्बद्धर्नमा नगरपालिकाको सधै साथ र सहयोग रहने बताए ।

सम्मेलनले पार्कहरुले भोग्नुपरेका कानुनी जटिलता र नीतिगत समस्या पहिचान र समाधानमा साझा पहल गर्ने फुलबारीका अध्यक्ष खेम लुइटेलले बताए ।

लुइँटेलले हालसम्म नेपालमा पार्कसम्बन्धी कुनै कानुन, नियमावली नहुँदा जुनुसुकै क्षेत्रबाट सञ्चालित पार्कहरुको विकास र संरक्षणमा समस्या देखिएकाले नीतिगत तहमा समाधान खोजिने बताए । सम्मेलनमा देशभरका करिब १५० पार्कका ३ सय जना प्रतिनिधिहरु सहभागी भएका छन ।

सम्मेलनले पार्कहरुको राष्ट्रिय नेतृत्व चयन गर्नेछ । सम्मेलनमा संविधानविद् काशीराज दाहाल र पत्रकार डिआर घिमिरेले कार्यपत्र पेश गरेका थिए । शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) का अध्यक्ष बेलप्रसाद शर्माले पर्यटन, वातावरण संरक्षण, मानव स्वास्थ्य र ठाउँको सौन्दर्यताका लागि पार्कहरुको ठूलो भूमिका रहेको बताए ।

सम्मेलनले नेपाल पार्क महासंघ गठन गरी बुटवल घोषणपत्रसमेत जारी गर्ने मणिमकुन्द सेन उद्यानका प्रमुख कार्यकारी अधिकृत अनन्त सिलवालले जानकारी दिए ।