अमेरिकाले रवि लामिछानेको पार्टी गठन गर्दियो – केपी शर्मा

काठमाडौँ, जेठ ९ गते । द्वन्द्वविज्ञ डा. केपी शर्माले नेपालमा वैकल्पिक शक्तिनिर्माण गर्न अमेरिका नै लागेको बताएका छन् । ‘यो हो’ टेलिभिजनमा पत्रकार जीवराम भण्डारीलाई अन्तर्वार्ता दिंदै डा. शर्माले अमेरिकाले एकैपटक पुराना पार्टीमा नेतृत्व परिवर्तन गर्न तथा नयाँ पार्टी निर्माणको काममा लागिरहेको दावी गरेका हुन् ।
‘नेपाली काङ्ग्रेसका पनि तेस्रो÷चौथो पुस्ताका नेतालाई अमेरिकाले बोकिरहेको छ’ भन्दै उनले भने – ‘अमेरिकाले नयाँ पार्टी पनि गठन गरिसकेको छ; जस्तो कि रवि लामिछानेको पार्टी ।’

रवि लामिछानेको पार्टीलाई अमेरिकाले फन्डिङ गरेको प्रमाण खोज्नु त्यति गा¥हो नभएको बताउंदै भने – एनआरएनका मानिसहरूले हामीले फन्डिङ गरिरहेका छौँ भनिरहेकै छन् । सामाजिक सन्जालमा यससम्बन्धी तमाम प्रमाण भेट्याउन सकिन्छ ।’

‘नेपालमा वैकल्पिक शक्तिनिर्माणको प्रयास विदेशीबाट भइरहेको छ भन्ने हामीले बुझ्नुपर्दछ ।’
काङ्ग्रेससितको किन सम्बन्ध बिग्रियो ?

डा. शर्माले नेपालमा एमसिसी पास गर्दासम्म काङ्ग्रेस, एमालेका पुराना पुस्तासँग अमेरिकाको सम्बन्ध सामान्य रहेको तर त्यसपछि भने सम्बन्ध बिग्रेको बताउनुभयो । ‘काङ्ग्रेसका फस्र्ट लेयरका नेतासम्म अमेरिकाको सम्बन्ध अहिले बिग्रिएको बुझ्नुपर्दछ’ उहाँले भन्नुभयो– ‘तर एमसिसी पास गर्दासम्म त उनीहरूको सम्बन्ध राम्रै थियो ।’

अन्तर्वातामा उहाँले काङ्ग्रेसनेतृ आरजू राणाको पहलमा चीनबाट छ अर्ब रुपियाको हतियार किनेपछि अमेरिकासँग काङ्ग्रेसको सम्बन्ध बिग्रिएको दाबी गर्नुभयो । उनले भने – भारत र अमेरिका दुवै नेपाललाई स्याटेलाइट कन्ट्री मान्दछन् । त्यसैले उनीहरूले यस घटनालाई स्वाभाविक रूपमा लिएनन् ।’

रवि पश्चिमी राष्ट्रको डिजाइन
द्वन्द्वविज्ञ शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अमेरिकासहित पश्चिमी राष्ट्रले डिजाइन गरेको दाबी गरे ।
‘अहिले मैले रविको विरोध गरेँ भने धेरै रिप (श्रद्धाञ्जली) आउन सक्ला तर मैले सत्य कुरा भन्दैपर्दछ’ उनले अगाडि भने – ‘रविलाई पश्चिमी शक्तिले डिजाइन गरेको छ भनेर बोलिरहँदा नेपाली जनताले नपत्याउन सक्लान् तर यो सत्य हो । यसमा विमति छैन ।’

उहाँले नेपालमा विदेशीहरूले प्रोक्सी फोर्स (नक्कली शक्ति) जन्माउँछन् भन्ने सबैलाई थाहा भएको विषय बताउँदै रवि जस्तो अमेरिकामै बसेको आएको युवालाई प्रयोग गर्नु सहज भएको बताए ।

डा. शर्माले रवि लामिछानेको नेतृत्व लामो समय नजाने बताउनुभयो । ‘रवि लामिछाने जस्तो प्लसटू पनि पास नगरेको मान्छेले अमेरिकी स्वार्थ नेपालमा धान्न नसक्लान्’ उहाँले भन्नुभयो– ‘तर त्यहाँ डा. स्वर्णीम वाग्ले जस्ता मान्छे छन्, उनीहरूले अमेरिकी इन्ट्रेस्टमा रास्वपालाई अगाडि बढाउन सक्छन् ।’

उनले आगामी चुनावसम्म अमेरिकाले रास्वपाको नेतृत्व पुनर्गठन गर्न सक्ने सम्भावनातर्फ इङ्गित गरे ।

प्रम प्रचण्डको भारत भ्रमण

डा. शर्माले आगामी प्रचण्डको भारत भ्रमणको सम्बन्धमा केही विषयको खुलासा गरे ।

‘सन् १९५० को सन्धि पुनरावलोकन अर्थात् ई.पी.जी. प्रतिवेदन, लिपुलेक–लिम्पियाधुरा अतिक्रमण, नागरिकता विधेयक, मधेसको सवाल, गोर्खा भर्तिकेन्द्र—यी विषयमा भारतअनुकूल धारणा नेपालले बनाओस् भन्ने भारत चाहान्छ’ उनको भनाइ थियो ।

उपर्युक्त विषयमा भारतअनुकूल धारणा कायम हुन्न भने प्रधानमन्त्री प्रचण्डको भ्रमणलाई खासै महŒव नदिने भारतको योजना रहेको उनको दाबी थियो । उनले – ‘यी विषयमा भारतले चाहेअनुकूलको धारणा बनेन भने प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण लड्डु खान गए झैँ हुने छ ।’

हिन्दु कि इसाई राष्ट्र नेपाल ?
अन्तर्वार्ताको क्रममा शर्माले नेपालमा यतिखेर हिन्दु राष्ट्र कि इसाई राष्ट्र भन्ने विवाद भारत र अमेरिकाको माझमा चलिरहेको बताए ।

‘भारतको अहिलेको सरकार नेपालमा हिन्दु राष्ट्र कायम गर्न चाहान्छ । यसमा कुनै विवाद छैन’ उहाँले भन्नुभयो– ‘तर यसो गर्दा उसको टक्कर अमेरिकासित हुन्छ किनकि अमेरिका इसाई धर्ममार्फत् नेपालमा आफ्नो प्रभाव बढाउन चाहान्छ ।’

भारतले पहिले पहिले राजाबिनाको हिन्दु राष्ट्र चाहेको बताउँदै उहाँले आजभोलि राजासहितकै हिन्दु राष्ट्रको पक्ष ऊ उभिन खोजेको आशङ्का व्यक्त गरे ।

भारत र अमेरिकामाझको अन्तरविरोध
द्वन्द्वविज्ञ शर्माले भारत र अमेरिकामाझ चीनलाई घेर्ने विषयमा समान धारणा भए पनि अन्य विषयमा फरक धारणा रहेको बताए । ‘युक्रेन युद्धको सन्दर्भ तटस्त बसेर रुसको पक्ष लिएको अमेरिकालाई मन पर्दैन’ यसरी उनीहरूको माझमा एक खालको शीतयुद्धको स्थिति देखा पर्दछ ।’

अर्काेतिर नेपालमा अमेरिकाको प्रत्यक्ष उपस्थिति पनि भारतलाई मन नपर्ने उहाँले बताए ।
‘दुवैको एउटै समान धारणा चीनको विरुद्धको निगरानी हो’ उहाँले भन्नुभयो– ‘तर नेपालमा आफ्नो वर्चस्व रहिरहेका बेला अमेरिका नआओस् भन्ने भारत चाहान्छ ।’

चीनको रवैया
डा. शर्माले तुलनात्मक रूपमा अमेरिकाभन्दा नेपालमा भारतको उपस्थितिलाई चीनले स्वीकार्ने धारणा राखे ।‘चीनलाई लाग्न सक्छ, भारतलाई सजिलै म्यानेज गर्न सकिन्छ तर अमेरिका आयो भने गा¥हो हुन्छ’ उनेको भनाइ थियो ।

उनले नेपालमा चिनियाँ प्रभाव बढाउन बी.आर.आई. अगाडि बढाएको बताउनुभयो । ‘बी.आर.आई. मार्फत् नेपाल हुँदै एसिया छिर्ने एउटा बाटो बनाउने चीनको चाहना छ’ उनले भने ।
नेपालको पछिल्लो राजनीतिक अवस्था हेर्दा चीन नेपालमा पछि धकेलिएको उहाँले बताए ।उनले भन्नुभयो– ‘नेपालमा यतिखेर अमेरिका र भारत नै माइक्रो म्यानेजमेन्ट गरिरहेका छन्, चीन पृष्ठभूमिका धकेलिएको छ ।’

भुटानी होइन, तिब्बती शरणार्थी
अन्तर्वार्ताको क्रममा डा. शर्माले खास मामिला भुटानी शरणार्थीको नभएर तिब्बती शरणार्थीको भएको बताए ।
‘अमेरिकाले तिब्बती शरणार्थीलाई पुनस्र्थापना गर्न खोजको थियो । त्यो प्रस्ताव उसले बालकृष्ण खाँड गृहमन्त्री भएका बेला राखेको पनि थियो’ उनले भने – ‘तर बालकृष्णले त्यसलाई स्वीकार गरेनन् किनकि उनले अर्कै खेल खेलिरहेका थिए ।’

उनका अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमा भएको अनियमितताबारे अमेरिकालाई थाहा भयो । उनले भने – ‘नक्कली भुटानी शरणार्थी प्रकरणबारे अमेरिकालाई थाहा छ । त्यही भएर अमेरिकी जासुसी संस्था एफबिआईको टोली नेपालमै बसेर यसको अनुसन्धान गरिरहेको छ ।’

उनले केही दिनअघि काङ्ग्रेसनेतृ आरजू राणाले समेत ‘हामीले मात्रै हो र छानबिन गरेको, अरूले पनि गरिरहेका छन्’ भन्ने अभिव्यक्ति नै त्यसको प्रमाण भएको बताए ।

उनले यहाँसम्म दाबी गर्नुभयो– ‘अहिले नेपाल प्रहरीलाई तथ्य, प्रमाण जुटाउने सवालमा अमेरिकाले सघाइरहेको छ ।’

शरणार्थी प्रकरणमा प्रधानमन्त्री प्रचण्ड
डा. शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रधानमन्त्री प्रचण्डको अमेरिकासित ‘डिल’ भएको हुन सक्ने आशङ्का व्यक्त गरे ।

‘गृहमन्त्री खाँडले तिब्बती शरणार्थी पुनस्र्थापनाको प्रस्ताव स्वीकार नगरेपछि सरकार बन्ने बेलामा अमेरिका र प्रधानमन्त्री प्रचण्डसित यस्तो सहमति भएको हुन सक्छ’ उनले भने – ‘त्यसमा सत्य निरूपण तथा मेलमिलाप विधेयक पारित गर्न अमेरिकाले सघाउने, नक्कली भुटानी शरणार्थी प्रकरण अघि बढाउन अमेरिकाले सहयोग गर्ने ।’

माओवादीका कुनै पनि नेता भुटानी शरणार्थी प्रकरणमा नमुछिएकाले प्रचण्ड सरकारलाई यससम्बन्धी छानबिन अघि बढाउन सहज भएको उनको भनाइ थियो ।