चुन ढुंगा डम्पिङमा स्थानीयको अबरोध

 बुटवल, जेठ १० गते । कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नम्बर १ कपासीमा बानिया निर्माण सेवा प्रालि हेटौडाले चुनढुंगा डम्पिङ गर्दा प्रदुषण फैलिएको भन्दै स्थानीयले विरोध गरेका छन् ।

प्रदुषण फैलिएको भन्दै स्थानीयले ढुवानीमा अबरोध गर्दै रोक लगाएको पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष किरणमान वर्जचार्यले जानकारी गराए ।
निर्माण सेवाले २०७७ सालदेखि अर्घाखांचीबाट चुनढुंगा ल्याएर कपासीमा जग्गा भाडामा लिएर डम्प गर्दै आएको छ ।

 


चुनढुंगा डम्प गरिएको स्थान नजिकै रामेश्वर माध्यामिक विद्यालय रहेकोले बालबालिकालाई असर पुगेको टोल विकास संस्थाका सचिव ईश्वरी मल्ल ठकुरीले बताए ।
१२ चक्के गाडी चल्दा बाटो बिग्रिनुका साथै धुलो उडेर घर वरिपरी प्रदुषण फैलिएकाले डम्पिङ हटाउनु पर्ने स्थानीयको माग छ ।

स्थानीयले बैशाख १२ गते वडा कार्यालयमा हस्ताक्षर सहितको पत्र बुझाएका थिए भने नगरपालिका, जिल्ला प्रशासन, वन कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय लगायतका कार्यालयमा उजरी दिएका थिए ।

वडाअध्यक्ष तिलक बस्नेतले निर्माण कम्पनीले नीजि जग्गा भाडामा लिएर डम्प गरेपनि त्यसले गाउंभरी प्रदुषण फैलिएको बताए । बुद्धभुमी नगरपालिकाका प्रमुख केशवकुमार श्रेष्ठले स्थानीयको माग अनुसार चुनढुंगा नथुपार्न निर्देशन दिएको बताए ।