बुटवल र पाल्पाको वसन्तपुर जोड्ने लुम्बिनी केवलकार सञ्चालन हुने

 बुटवल, जेठ १५ गते । रुपन्देहीको बुटवलस्थित बोमघाटबाट पाल्पाको वसन्तपुरसम्म केवलकार सञ्चालन हुने भएको छ ।
लुम्बिनी केबलकारले बुटवलबाट पाल्पाको वसन्तपुरसम्म यही जेठ १५ गते सोमबारदेखि हुने छ । केवलकार सञ्चालक तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले बुटवलमा संचालन हुने केवलकारले आर्थिक क्षेत्रलाई चलायमान बनाउने र पर्यटकको आगमनमा वृद्वि हुने बताए ।

केवलकार सञ्चालनबारे जानकारी गराउन आइतबार पत्रकार सम्मेलन गरी लुम्बिनी केवलकारका मुख्य संचालक ढकालले केवलकार सञ्चालनमा आएपछि बुटवल चलायमान हुने र पुरानै लयमा फर्कने दावी गरे ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित संचालनमा नआउंदा र प्रदेश राजधानी सरेपछि बुटवललाई परेको नोक्सानी केवलकारले पुरा गर्ने बताए ।
मुख्य सञ्चालक ढकालले भोली सोमबारदेखि केवलकार सञ्चालनमा आउने बताउंदै उनले भने – रुपन्देही र लुम्बिनी प्रदेशलाई मात्र नभई भारतका नौतनहवा र गोरखपुरसम्मका पर्यटकलाई केवलकारले आर्कषि गर्छ ।

केवलकार सञ्चालन भएपछि पर्यटन क्षेत्रपनि फस्टाउने सञ्चालक ढकालको भनाइ छ । बुटवल उपमहानगरपालिका वडा नं. ३ बमघाटमा आधार स्टेसन र पाल्पाको तीनाउ गाउंपालिका वडा नं. ३ बसन्तपुरमा लुम्बिनी केबलकारको टप स्टेसन बनाईएको छ ।

केवलकार सञ्चालक ढकालका अनुसार ५ अर्ब लगानी लागेको छ । टप स्टेसन बसन्तपुरमा क्यासिनोसहितको एक सय ५० कोठाको पांचतारे होटल, रेष्टुरेण्ट, कामाख्या मन्दिर लगायतका संरचना बनाइने छ ।

व्यवसायिक हिसावले बनाईएको लुम्बिनी केवलकारसंगै बुटवलमा अर्को केवलकार पनि सञ्चालनका लागि निर्माण भैरहेको छ ।