नेपालको भू–भाग अखण्ड भारतको नक्सामा समेटिएकोप्रति एमाले रुपन्देहीको बिरोध  

बुटवल, जेठ १६ गते । नेकपा एमाले रुपन्देहीले भारतको नयां संसद भवनमा राखिएको अखण्ड भारतको नक्सामा नेपालको भू–भाग समावेश गरिएकोप्रति आपत्ती जनाएको छ ।

भारतको नयां संसद भवनमा राखिएको बुद्ध जन्मस्थल लुम्बिनी र कपिलवस्तुलाई समावेश गरिएको कार्यप्रति एमालेले बिरोध गर्दै आपत्ती जनाएको हो । एमाले रुपन्देही अध्यक्ष तेजेन्द्र केसीले मंगलबार एक विज्ञप्ती जारी गरी बिरोध जनाएका छन् ।

भारतले हालै उद्घाटन गरेको नयां संसद भवनमा राखिएको उक्त नक्सामा विश्वमै प्रख्यात नेपालको रुपन्देहीमा जिल्लामा पर्ने बुद्ध जन्मस्थल लुम्बिनी र कपिलवस्तुलाई पनि समावेश गरिएको खवरहरु सार्वजनिक हुनु निकै  आपत्तिजनक रहेको विज्ञप्तीमा उल्लेख छ । अध्यक्ष केसीले हस्ताक्षर गरी जारी गरेको विज्ञप्तीविज्ञप्ती मार्फत सार्वजनिक गरिएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी ओली नेतृत्वको तत्कालीन सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भू–भाग समेटेर नयां नक्सा जारी गरेको र सो नक्सा अनुसार नेपालको भू–भाग अझै फिर्ता नआइसकेको सन्दर्भमा नेपालको भूमि फिर्ता गर्नुको साटो थप भू–भागलाई आफ्नो नक्सामा राखेर भारतको देखाएको हेपाहा प्रवृत्तिप्रति एमाले रुपन्देहीले आपत्ती प्रकट गरेको छ ।

भारतको उक्त व्यवहारप्रति सरकार मौन बस्नुले सरकारको  राष्ट्रियताप्रतिको चरित्र उदाङको भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण सुरु हुनै लाग्दा आएका यस्ता गम्भीर र विवादास्पद विषयप्रति समयमै संवेदनशील बन्न, यसप्रति तत्काल भारत सरकारसंग आपत्ती जनाउन र उक्त नक्साबाट नेपालको भू–भाग हटाउनेतर्फ ठोस पहल गर्न एमाले रुपन्देहीले सरकारलाई खवरदारी गरेको छ ।

राष्ट्रियताको संरक्षणमा नेकपा एमालेले जस्तोसुकै परिस्थितिको  सामना गर्न तयार रहेको अध्यक्ष तेजेन्द्र केसीले जारी गरेको विज्ञप्तीमा चेतावनी दिईएको छ ।