रुखबाट लडेर प्यूठान ओखरकोटकी हिराको मृत्यु, छोराछोरी पढाउने सपना भए चकनाचुर

 हरि बिक

प्यूठान, जेठ १६ गते । प्यूठान झिमरुक गाउंपालिका वडा नम्बर ५ ओखरकोट रातामाटाकी हिरा जीसीको रुखबाट लडेर मृत्यु भएको छ । मंगलबार बिहान डाले घास खसाल्नका लागि सालको रुखमा चढेको बेला सोही रुखबाट खसेर २७ वर्षिय हिरा सख्त घाईते भएकी थिइन् ।

घाईते हिराको उपचारको क्रममा प्यूठानको जिल्ला अस्पताल विजुवारमा मृत्यु भएको स्थानीय प्रदीप जीसीले नयां दिशालाइ जानकारी गराएका छन् । रातामाटा सामूदायिक वनमा डाला काट्नका लागि रुखमा चढेको अवस्था उनी रुखबाट खसेकी थिइन् । गाइभैसी र बाख्राका लागि उनी डाले घास खसाल्न सालको रुखमा चडेको स्थानीयले बताएका छन् ।

मृतक हिराको श्रीमानसहित नाबालक एक छोरा र एक छोरी छन् । साहारा दिने आमाको मृत्यु भएपछि अहिले नावालक छोरा र छोरी विचल्लीमा परेका छन् ।
हिराको मृत्यु भएपछि नावालक छोराछोरी विचल्लीमा परेका छन्, भने उनका श्रीमान पनि जीवन साथी गुमाएपछि साहारा विन बनेका छन् ।

उनी वासका चोयाबाट बन्ने सामाग्री बनाएर आफ्नो जीविका निर्वाहका लागि केही महिनादेखि लागि परेकी थिइन् । आर्थिक अवस्था तथा घरको आयश्रोत कमजोर भएपछि चोया चित्रबाट बन्ने सामाग्रीहरु व्यवसायिक रुपमा उत्पादन गर्ने उनको सोंच रहेको स्थानीय प्रदीप जीसीले बताए ।

चोयाचित्राबाट बनाइएका सामाग्रीहरु विक्री वितरण गरेर त्यसको आम्दानीबाट छोराछोरी पढाउने र आर्थिक अवस्था सुर्धाने उनको सपना अधुरै रहे ।