देवदहको खयरडाँडामा उत्खनन शुरु

बुटवल, जेठ १७ गते ।लुम्बिनी विकास कोषले बुद्धको मावली कोलिय गणराज्यको दरबार क्षेत्र अनुमान गरिएको खयरडाँडामा उत्खनन शुरु गरेको छ । बुधबार कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई र देवदह नगरपालिकाका नगरप्रमुख धु्रव खरेलले संयुक्त रुपमा उत्खननको शुभारम्भ गरेका हुन् ।

देवदह नगरपालिका वडा न. ९ स्थित घोडाहा खयरडाँडामा लामो समयदेखि दरबारक्षेत्रको भग्नावशेष रहेको भन्दै उत्खननका लागि स्थानीयले आवाज उठाउँदै आएका थिए ।
लुम्बिनी विकास कोषका कोषाध्यक्ष भट्टराईले देवदहका स्थानीय र विभिन्न अभियान्ताहरुले दावी गरे अनुसार देवदहको खोजीका लागि उत्खनन महत्वपूर्ण बन्ने बताए ।
उनले देवदहको खोजीका लागि रुपन्देही र नवलपरासीका क्षेत्रहरुको पुरातात्विक उत्खनन गर्नुपर्ने बताउँदै त्यसैका लागि कोषले उत्खनन थालेको हो भने ।

उत्खनन शुभारम्भमा देवदह नगरपालिकाका नगरप्रमुख धु्रव खरेलले खयरडाँडाँ क्षेत्र नै कोलिय गणराज्यको राजधानीको दरवार क्षेत्र रहेको दावी गरेका छन् ।
लुम्बिनी विकास कोषले खयरडाँडामा उत्खनन शुरु गरेर पुरातात्विक स्थल र बुद्धको मावली गाउँ देवदहको खोजी गर्नु उत्तम कार्य भएको बताए ।
लुम्बिनी विकास कोषका पुरातात्व महाशाखा प्रमुख हिमाल उप्रेतीको नेतृत्वमा ७ जनाको टोली उत्खननमा खटिएको छ ।

लामो समयदेखि स्थानीयहरुको माग रहेपनि विविध कारण हुन नसकेको उत्खनन यो पटक शुरु गरिएको महाशाखा प्रमुख उप्रेतीले बताए । स्थानीयको दावी अनुसार खयरडाँडाँ बुद्धको मावली कोलिय गणराज्यको राजधानी देवदहको दरवार क्षेत्र हो । पुरातात्विक रुपमा देवदहको पुष्टिका लागि उत्खननले महत्वपूर्ण प्रमाणहरु जुटाउने अपेक्षा गरिएको छ ।