गर्मीका कारण तराईको जनजीवन प्रभावित, विद्यालयहरुमा विदा
बुटवल, जेठ २१ गते । तराईका जिल्लामा केहीदिन यतादेखि अत्यधिक गर्मी बढेको छ । अत्याधिक गर्मीबढेसंगै तराईको जनजीवन प्रभावित भएको छ ।
रुपन्देहीलगायत तराईका जिल्लामा अधिकतम तापक्रम ४२ डिग्री सेल्सियससम्म पुगेपछि तातो हावा तथा लु चल्न थालेको हो ।
तातो हावा चल्न थालेपछि विद्यालयहरु बन्द गर्न थालिएको छ ।पांच दिन यतादेखि तराईका जिल्लामा बढी गर्मी बढेको र तराईका जिल्लामा तत्काल वर्षाको सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई क्षेत्रमा अझै तापक्रम बढ्ने छ । पहाडी क्षेत्रमा सांझ–बिहान हल्का बदली र फाट्टफुट्ट वर्षा भएपनि पहाडी भूभागका उपत्यका तथा खोंचमा तापक्रम उच्च रहेको मौसमविद्हरुले बताएका छन् ।
लामो समयदेखि वर्षा नहुंदा जमिन तातेपछि तराई क्षेत्रमा जनजीवन थप कष्टकर बनेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो पांच दिनदेखि मध्यतराईका रुपन्देही, कपिलवस्तु, नवलपरासी, बारा, पर्सा, सिराहा, रौतहट, धनुषा लगायतका जिल्लामा अधिकतम तापक्रम बढेको छ ।
गर्मीका कारण विद्यालयमा बालबालिका बेहोस हुने, ज्वरो आउने क्रम बढेपछि रुपन्देहीका अभिभावकहरुले केही दिनका लागि विद्यालय बन्द गर्न माग गरेका छन् ।
गर्मी बढेपछि बुटवलका केही विद्यालय असार पहिलो सातासम्म बन्द भएका छन् । बुटवलका विद्यालयले असार ८ गतेसम्म विदा दिएका छन् । वार्षिक शैक्षिक क्यालेन्डर अनुसार बुटवलका विद्यालयले जेठ १६ गतेदेखि असार ८ असारसम्म बिदा दिएका हुन् ।
बुटवल उपमहानगरपालिकाका शिक्षा तथा जनस्वास्थ्य महाशाखाका प्रमुख मित्रमणि खनालले वार्षिक बिदा तय गर्न विगतमा कार्यदल बनाइएको र त्यही कार्यदलले बनाएको क्यालेण्डर अनुसार विदा दिएको बताए । महाशाखाका प्रमुख खनालका अनुसार बुटवलका सबै विद्यालयलाई शैक्षिक क्यालेन्डर अनुसार बिदा दिन भनिएको छ ।
यस्तै अत्याधिक गर्मी बढेपछि तिलोत्तमा नगरपालिका र सैनामैना नगरपालिकाले विद्यालय बन्द गर्ने भएका छन् । तिलोत्तमा नगरपालिकाले सूचना जारी गरी भोली जेठ २२ गतेदेखि असार १७ गतेसम्म पठनपाठन बन्द हुने जनाएको छ ।
‘नगरप्रमुख स्तरीय निर्णयानुसार विगत केही दिनदेखी बढीरहेको तापक्रमले अत्याधिक गर्मी भई विद्यालयहरुमा पठनपाठन सञ्चालनमा कठिनाइ भएको हुदाँ वार्षिक विदावाट समायोजन हुने गरी मिति २०८० । ०२ । २२ गते देखी २०८०।०३ । १७ गते सम्म नगर भित्रका सम्पूर्ण शैक्षिक संस्था ( सामुदायिक तथा संस्थागत) हरुमा बिदा गर्ने निर्णय भएकाले सोही अनुसार गर्नुहुन जानकारी गराइन्छ भन्दै तिलोत्तमा नगरपालिकाले सूचना जारी गरेको छ ।
यता रुपन्देहीको सैनामैना नगरपालिकाले पनि भोलिदेखि जेठ २४ गतेसम्म नगरपालिका भित्रका सबै विद्यालयलाई विदा दिने भएको छ । नगरपालिकाले एक सूचना जारी गरी नगरभित्रका सबै विद्यालय भोलिदेखि जेठ २४ गतेसम्म बन्द हुने जनाएको हो ।
मौसमविद् विनु महर्जनले पश्चिमी र स्थानीय वायु रहेपनि सक्रिय नभएकाले वर्षा नहुंदा गर्मी बढेको बताए । मौसमविद् विनु महर्जनका अनुसार प्रिमनसुनको अवधि समाप्त हुने र मनसुन प्रवेश गर्ने समय नजिकिंदै जाँदा वर्षा हुन नसकेको हो ।