भैरहवाका ७४ जना एमालेले छोडे एमाले

 भैरहवा, जेठ २२ गते । पार्टीभित्र नातावाद, क्रिपावाद, चरम गुटबन्दी र भ्रष्टाचार बढेको आरोप लगाउँदै नेकपा एमाले सिद्धार्थनगर नगर कमिटीका सचिव नारायणप्रसाद भण्डारीसहित ७४ जनाले सामूहिक राजीनामा दिएका छन् ।

सामूहिक राजीनामा दिँदै भण्डारीसहितका एमाले नेता–कार्यकर्ताले भैरहवा क्षेत्रमा एमालेभित्र केही अराजक, विकाउ र चरम गुटबन्दी गर्ने नेताहरु हावी भएको समेत आरोप लगाए ।
राजीनामा दिनेमा नगर कमिटीका सदस्यहरु, अखिल नेपाल महिला संघ, राष्ट्रिय युवा संघ नेपाल, स्वतन्त्र विद्यार्थी युनियन कोषाध्यक्ष, सदस्यहरु, पार्टीका वडा कमिटी अध्यक्ष एवं सदस्यहरु, क्रियाशील सदस्य लगायत छन् ।

सोमबार भैरहवामा पत्रकार सम्मेलन गरी उनीहरुले सामूहिक राजीनामा दिएको घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा नेता भण्डारीले भैरहवामा एमालेलाई माथि उठ्नै नदिन केही दुईचार जना नेताहरु लागिपरेको आरोप लगाए ।

उनले ती नेताहरु विकाउ, चुनाव आयो भने अन्य पार्टीसँग तालमेल गरी आर्थिक लाभ लिन अग्रसर हुने खालका भएको जनाए ।भण्डारीले पार्टी सही ढंगबाट नचलेको भन्दै आफूहरुसहितका नेताकार्यकर्ताले एक महिना अघि पार्टी पंक्तिलाई १० बुँदे सुझाव र माग पेस गर्दासमेत बेवास्ता गरिएको जनाए ।

आफूहरुले उठाएका जाहेज मागहरु सम्बोधन होलान, छलफल र बैठक होला, पार्टी निर्माणमा लाग्लान् भनेको उल्टै आफूहरुलाई खेद्ने काम भएको, गुटबन्दी अझै झाँगिएको भण्डारीेको आरोप छ ।

यसअघि पार्टीलाई नातावाद, कृपावाद, गुटवाद र धनवादबाट बचाएर एकढिक्का पार्दै अगाडि लैजानका लागि ५१ जना कार्यकर्ताहरुले पार्टी सुदृढीकरण तथा संगठनात्मक सुधारको लागि सुझावपत्र पेश गरिएको तर यसलाई नेतृत्वले कुल्चिएको आरोप लगाए ।

नगरभित्रका विभिन्न तह र तप्कामा रहेका नेता कार्यकर्ताहरुले झण्डै १ महिनाअघि पार्टीमा गर्नुपर्ने सुधारको माग राख्दै नेतृत्वलाई मागसहित सुझावपत्र पेश गर्दा उल्टै नगरसचिवलाई थाहै नदिई बैठक बसेर मनपरी निर्णय गरिएको भण्डारीको आरोप छ ।

पार्टी सुधारको माग गर्दा व्यक्तिगत आलोचना गर्ने, व्यक्तिगत कारवाही गर्छौं भन्दै हिँड्ने, पार्टी संगठनात्मक र संस्थागत रुपले भन्दा पनि व्यक्तिगत र गुटगत तरिकाले हेर्ने, व्यवहार गर्ने, पार्टीका माथिल्लो तहसम्म पनि खबर गर्दा नसुन्ने गरिएको भण्डारीको गुनासो छ ।
आगामी दिनमा पार्टीमा आमूल परिवर्तन गरी जनताको मनोभावना अनुसार काम गर्ने गरी वार्ता गर्न आएमा संवाद र वार्ताको ढोका भने खुल्ला रहेको उनले बताए ।

अब नगरभित्र दुःखमा परेका जनताको सेवा गर्न स्वतन्त्र नागरिक अभियान बनाएर अघि बढ्ने बताउंदै उनले भने – अबका केही दिनमा सिद्धार्थनगरमा एमालेका ५० प्रतिशत नेताकार्यकर्ताले पार्टी छाड्ने छन् ।