प्रतिगमनकारी शक्ति राजतन्त्र व्युताउन केन्द्रित – मोहनविक्रम

दाङ, जेठ ३० गते । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले प्रतिगमनकारी शक्तिहरु राजतन्त्र व्युताउने प्रयासमा लागेको बताएका छन् । गणतन्त्र, धर्मनिरपेक्षता लगायतका अधिकारलाई मास्ने गरी प्रतिगमनकारी शक्तिहरु सदन र सडकमा शक्ति केन्द्रित गर्न लागेको बताए ।

राष्ट्रिय जनमोर्चा दाङले मंगलबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महामन्त्री सिंहले प्रतिगामी शक्तिहरुका कारा अहिले मुलुक गम्भीर संकटको अवस्थामा पुगेको बताए ।

महामन्त्री सिंहले राजतन्त्र पक्षधर शक्तिहरूदेखि अहिले भारतीय विस्तारवाद र अमेरिकन साम्राज्यवादसम्मले नेपालमा प्रत्यक्ष हस्तक्षेप बढाएको उल्ेख गर्दै उनले भने – मुलुकको स्वाधीनतासँगै जनताका प्राप्त उपलब्धिलाई मास्ने खेल भएको छ ।

महामन्त्री सिंहले अहिले सदनमा समेत राजावादी, प्रतिगमनकारी र वैदेशिक शक्तिहरूको योजनामा परिचालित दल वा व्यक्तिहरू हाबी हुँदै गइरहेकाले अहिले मुलुक चौतर्फी घेराबन्दीमा परिरहेको बताए।
सरकारले भ्रष्ट्राचार सवालमा केही गर्ने प्रयास गरिरहे पनि उक्त कदममा ब्रेक लगाउन बाह्य शक्ति केन्द्रको चलखेल समेत सुरु हुन थालेको उनले चर्चा गरे ।
मुलुकको स्वाधीनता, प्राप्त उपलब्धिको रक्षाका लागि वर्तमान सरकारकाले दरो गरी उभिनुपर्ने बताए ।