दम्पती हत्याका हत्यारा भेटिएनन

बुटवल, जेठ ३१ गते । नवलपरासीको प्रतापपुर गाउंपालिकामा भएको दम्पत्ती हत्या काण्डको अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)सहितको नौ जनाको प्रहरी टोली खटिएको छ । हप्ता दिन बित्दासमेत हत्याराको पत्ता नलागेपछि जिल्लाबाट अनुसन्धान गरिरहेको टोलीलाई सहयोग गर्न सिआइबीको टोली नवलपरासी पुगेको हो ।

गत सोमबार राती सो गाउंपालिकाको वडा नं. ८ पथलहनी बस्ने ५५ वर्षिय तीलकराम भेडिहार र उनका ५० वर्षीया श्रीमती निर्मला भेडिहारको विभत्स हत्या भएको थियो ।
उनीहरुको टाउको माधारिलो हतियार प्रयोग गरी हत्या गरिएको थियो । हत्याराले पूर्व योजना बनाएर घटना घटाएको देखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी भोजराज पाण्डेले बताए । हत्याराले होशियारी पूर्वक घटना घटाएको देखिएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार सामान्य प्रमाण पनि घटनास्थलबाट पाउन नसकेकाले हत्या गर्नेले पूर्व योजना बनाएको देखिएको छ । घटनाको जिल्लाबाट खटिएका सातजना र सिआइबीका दुई जना गरी नौ जनाको टोलीले अनुसन्धान गरिरहेको छ ।

शंकास्पद र हत्या गरिएका परिवारका बारेमा जानकार राख्ने केही व्यक्तिहरुलाई ल्याएर सोधपुछ भैरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी भोजराज पाण्डेले बताए ।

सुष्म ढंगले अनुसन्धान भइरहेको डिएसपी पाण्डेले बताए । हत्या गरेपछि दम्पत्तीको शव आगनमा ल्याएर फालिएको थियो ।