दाङको तुल्सीपुरमा जीप दुर्घटना, एक जनाको मृत्यु, नौ घाइते

दाङ, असार १ गते । दाङको तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर ३ शिरखोला नजिकै शुक्रबार बिहान भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी जीप चालकको मृत्यु भएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार तुलसीपुरदेखि रोल्पा गंगादेव गाउंपालिका वडा नं. १ ओतका लागि छुटेको रा १ ज ५५६ नम्बरको यात्रुबहाक जीप दुर्घटना हुंदा गंगादेव १ निवासी चालक अन्दाजी ३२ वर्षीय विष्णु पुनको मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका चालक पुनको उपचारकबो क्रममा तुल्सीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा परी ९ जना घाइते भएका थिए । घाइते ६ जनालाई थप उपचारका लागि बांकेको नेपालगञ्ज नरसिंह होममा रिफर गरिएको छ ।

दुर्घटनाका गम्भीर घाइते रोल्पा गंगादेव – १ बिवाङका २३ बर्षीय बलबहादुर वली, सोही ठाउंका निवासी ३२ बर्षीया गौशला वली, सल्यानको छत्रेश्वरी गाउंपालिकाकी २१ वर्षीया गीता बिक, बिकका ७ बर्षीय छोरा पवन बिक, ६ बर्षीया छोरी स्नेहा बिक र दाङ तुल्सीपुर उपमहानगरपालिका – १५ का ३३ बर्षीय खुसीराम चौधरीलाई राप्ती प्रादेशिक अस्पतालमा उपचारपछि थप उपचारका लागि नेपालगञ्ज नरसिंह होममा रिफर गरिएको छ ।

त्यस्तै घाइते रोल्पा गंगादेव – १ ओतका ४२ बर्षीय दुलबहादुर वली, सोही वडाकी मध्यम अवस्थाकी २० बर्षीया रिता डांगी र भारत बंगाल कलकत्ताका ३० बर्षीय सादाम हुसेनको तुल्सीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । तीब्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले बताएको छ ।