बजेट अभावले सीमानगरको सडक अलपत्र, स्थानीय आन्दोलनमा

बुटवल, असार १ गते । बुटवल उपमहानगपालिका र तिलोत्तमा नगरपालिकाको सीमानगरको सडक बजेटको अभावले अलपत्र परेपछि स्थानीयले सडक डिभिजन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् । सडक बनाउन शुरु गरेर अहिले अलपत्रै अवस्थामा छोडेपछि स्थानीयले सडक डिभिजन कार्यालय बुटवल कार्यालयलाई दवाव दिंदै ज्ञापन पत्र बुझाएका हन् ।
बजेट अभाव भएपछि योगीकुटीदेखि पूर्व र पश्चिमको सीमानगरको सडक अलपत्र परेपछि स्थानीयले संघर्ष समितसमेत गठन गरेका छन् । धागो कारखामना–योगीकुटी–मगराघाट–तामनगर सडक अन्तर्गत योगीकुटी खण्डको १८ सय मिटर बिचमै अलपत्र पारेर ठेकेदार कम्पनी सम्पर्क बाहिर गएको भन्दै स्थानीयबासी सडक डिभिजन कार्यालय जानु परेको स्थानीय डिल्लीनारायण पाण्डेले बताए ।

बनाउंदा बनाउंदै सडकको काम पुरा नगरी अलपत्र छोडेपछि अहिले धुलो र सडकबाट उछिट्टिने ढुंगाले सडक किनारका पसलहरु जोखिममा परेका छन्, भने पदल यात्रीले सास्ती भोग्नु पर्ने अबस्था छ । सडक डिभिजन पुगेर उनीहरुले डिभिजन प्रमुख होमबहादुर एसीलाई ज्ञापन पत्र बुझाएका छन् । ज्ञापनपत्र बुझ्दै डिभिजन प्रमुख एसीले संघबाट बजेट रोक्का भएकाले सडकको काम रोकिएको बताए ।

सडक सम्पन्न गर्नका लागि पर्ने आवश्यक बजेट नभएपछि सडक सम्पन्न गर्न नसकिएको काम रोक्नु परेको ठेकदार एनपी शेरचनले बताउनुभयो । यसअघि २७ फिट रहेको यो सडक ५० फिट कायम गर्ने गरी बिस्तार थालिएको थियो ।

संघीय सरकार अन्तर्गतको सो सडकमा योगीकुटी पूर्वमा एसियाटेक कन्ट्रक्सनले ३ करोड ३७ लाख ७० हजारमा ठेक्का लिएको थियो भने पश्चिम खण्डको सिद्धार्थ दर्शन बीकोन जेभीले ६ करोड ५२ लाख ७४ हजारमा ठेक्का पाएको थियो ।

हालसम्म ठेकेदार कम्पनीले योगिकुटी पूर्वमा १ करोड १२ लाख बराबरको काम गरेर भुक्तानी लिएको छ । त्यस्तै योकीकुटीबाट पश्चिमको ठेकेदारले १ करोड ४३ लाख भुक्तानी गरेको सडक डिभिजन कार्यालयले बताएको छ ।

सडक निर्माणका लागि २०७८ साउन २१ गते ठेकेदार कम्पनीसंग ठेक्का भएको थियो । २०७९ जेठ २१ गते सडकको काम सम्पन्न गर्ने गरी ठेकेदार कम्पनी सडक डिभिजन कार्यालय बुटवलवीच सम्झौता भएको थियो ।