समाजवादी मोर्चा गठन

बुटवल, असार ४ गते । चार राजनीतिक दलहरूले समाजवादी मोर्चा, नेपाल गठन गरेका छन् । आज २०८० असार ४ गते काठमाण्डौको राष्ट्रियसभा गृहमा एक कार्यक्रमको आयोाजना गरी समाजवादी मोर्चा गठनको घोषणा गरिएको हो । उक्त कार्यक्रममा सात बुँदे सहमतिपत्र जारी गर्दै सो मोर्चा गठन भएको घोषणा गरिएको हो ।

सहमतिपत्रमा उद्देश्य तथा नीतिगत प्रतिबद्धताको रूपमा १५ ओटा बुँदा उल्लेख गरिएको छ । त्यसको पहिलो बुँदामा नै संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्दै अगाडि बढ्ने उल्लेख छ ।

समाजवादी मोर्चामा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टी (जसपा) सामेल छन् ।
उक्त सात बुंदै संयुक्त घोषणापत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव र जसपाका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन् । सहमतिपत्रअनुसार मोर्चाको नेतृत्व आलोपालो हुने छ ।

नीतिगत निर्णय गर्न चारै पार्टीका अध्यक्षहरूसहितको संयोजन समिति गठन हुने छ । त्यस्तै सबै दलका प्रतिनिधि सम्मिलित सचिवालय गठन गरिने सहमतिपत्रमा उल्लेख छ ।
समाजवादी मोर्चालाई स्थानीय तहसम्म विस्तार गर्न सकिने उक्त घोषणपत्रमा उल्लेख छ ।