सशस्त्र प्रहरीले रुपन्देहीले कारसहित सुन नियन्त्रण

बुटवल, असार १० गते । रुपन्देहीमा सशस्त्र प्रहरी बलले दुई किलो सुनसहित कार र एकजना व्यक्तिलाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल बिओपी, बयरघाट, रुपन्देहीले शनिबार राती लुम्बिनी सांस्कृतिक नगरपालिकाको कालिदहबाट बरामद गरेको हो ।

सशस्त्र प्रहरीले कार र चालकसहित उक्त सुन बरामद गरेको हो । बरामद गरिएको बस्तु सुन जस्तो देखिने पहेंलो धातु रहेको सशस्त्रले जनाएको छ । सशस्त्र प्रहरी बल नम्बर २७ गण रुपन्देहीका प्रमुख एसपी दीपककुमार थापाले बरामद भएको उक्त दुईकिलो पहेंलो धातु सुन भएको आशंका गरिएको बताएका छन् ।

नेपालबाट भारततर्फ जांदै गरेको बा १२ च.३८२० नम्बरको मारुती सुजुकी कार र चालकलाई बिशेष सूचनाको आधारमा नियन्त्रणमा लिई चेकजांच गर्दा गियर बक्समा फल्स बटम बनाएर लुकाइ छिपाइ लैजांदै गरेको अबस्थामा फेला पारिएको प्रहरीले बताएको छ ।

सशस्त्र प्रहरीका अनुसार ईट्टा आकारको २ थान सुन जस्तो बस्तु, कार र चालक दाङको घोराही उपमहानगरपालिका–१० का हुमानन्द गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिइएको कार, सुन र चालकलाई भैरहवा भन्सार कार्यालयमा बुझाइएको छ ।

उक्त सुनजस्तो बस्तुको मूल्य (सुन प्रमाणित भएमा ) रु. १करोड ८८ लाख २७ हजार र गाडीको १५ लाख रुपैयां गरी रु २ करोड ३ लाख २७ हजार कायम गरी भैरहवा भन्सार कार्यालयमा बुझाइएको छ ।