सुभाषचन्द्र नेम्बाङलाई राजकीय सम्मान

बुटवल, भदौ २६ गते । संविधानसभाका पूर्व अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुभाषचन्द्र नेम्वाङलाइ सरकारले राजकीय सम्मान दिने भएको छ ।

संविधानसभाका पूर्व अध्यक्ष एवं वर्तमान प्रतिनिधिसभा सदस्य श्री सुवासचन्द्र नेम्वाङको ७१ वर्षको उमेरमा भएको असामयिक निधनप्रति नेपाल सरकार मन्त्रिपरिषद्को आकस्मिक बैठकले गहिरो शोक प्रकट गर्दै ह श्रद्धाञ्जली व्यक्त गरेको छ ।

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले मंगलबार विज्ञप्ती निकाली दुःखद घडीमा शोकसन्तप्त परिवारजन र शुभेच्छुकप्रति नेपाल सरकारको तर्फबाट समवेदना प्रकट गरेकी छन् ।

नेपालको संविधान निर्माण तथा जारी गर्नका लागि उहांले निर्वाह गर्नुभएको भूमिका र नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न उहाँले पुराउनु भएको योगदानको उच्च कदर गर्दै स्वर्गीय नेम्वाङको निष्ठा र त्यागलाई सबैले आत्मसात् गर्न सक्नु नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुने नेपाल सरकारको तर्फबाट जारी शोक विज्ञप्तीमा उल्लेख छ ।

मन्त्रिपरिषद् बैठकले दिवङ्गत सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने, शोक मनाउन अन्तिम संस्कार हुने दिन सार्वजनिक बिदा दिने र उक्त दिन नेपालभरका सरकारी कार्यालयहरु, विदेशस्थित नेपाली दूतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
नेम्वाङ

२०४८ सालदेखि २०५२ सालसम्म राष्ट्रिय सभाका सांसद बनेका नेम्वाङ २०६३ सालमा पहिलोपटक सभामुख बनेका थिए। नेम्वाङ अन्तरिम संसदमा समेत सभामुख थिए।

पहिलो र दोस्रो संविधान सभाका अध्यक्ष र सभामुख बनेका नेम्वाङकै कार्यकालमा २०७२ असोज ३ गते संविधान जारी भएको थियो।

नेम्वाङले इलाम क्याम्पसमा पढ्दादेखि नै कम्युनिष्ट राजनीति सुरु गरेका थिए। अनेरास्ववियुमा आवद्ध भएर २०२९ सालदेखि उनी कम्युनिस्ट राजनीति सुरु गरेका थिए। २०३३ सालमा राजद्रोह मुद्दामा उनी जेल समेतपरेका थिए।

नेम्वाङ २०४८ र २०५२ सालमा राष्ट्रिय सभाको सदस्य बनेका थिए। उनी मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिस्ट सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री भएका थिए।

उनी जनआन्दोलन ०६२– ०६३ सँगै पुनः स्थापित संसदको सभामुख बनेका थिए।

वरिष्ठ अधिवक्ता समेत रहेका नेम्वाङले नेपाल ल क्याम्पसमा पढाएका थिए। उनले प्रध्यापन, कानुन व्यवसाय र राजनीतिलाई एकसाथ अघि बढाएका थिए। नेम्वाङ नेपाल बार एसोसिएसनको पूर्व महासचिव समेत हुन्।