नयां योजनासहित बुटवलको सरसफाइंमा निरन्तरता

बुटवल, भदौ २९ गते । बुटवलमा सरसफाइ अभियानले निरन्तरतता पाएको छ । बुटवल उपमहानगरपालिकाको सरसफाइ अभियान अन्तरगत शुक्रबार नयां बसपार्क सरसफाइ गरिएको छ । साउनको दोश्रो हप्ता शुरु भएको अभियानको अन्तिम दिन भदौको अन्तिम शुक्रबार नयां बसपार्कमा सरसफाइ गरिएको हो ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले मुख्य सडक सरसफाइ अभियान सकिएपनि मुख्य सडक र अन्य क्षेत्रहरु नियमित सरसफाइ गर्ने गरी नयां कार्ययोजना ल्याउने बताए । हरेक शनिबार टोलटोलमा टोल विकास संस्थाहरुको अगुवाइमा अभियान सञ्चालन भइरहने र मुख्य सार्वजनिक स्थलहरुको सरसफाइका लागि थप व्यवस्था गरिने बताए ।

 


उपप्रमुख सावित्रादेवी अर्यालले नगरलाई सफा र हरियाली बनाउन घरबाटै सरसफाइ अभियान चलाउनु पर्ने बताइन ।

४५ दिने अभियान पूरा भएपनि अभियानका क्रममा रोपिएका विरुवाको रेखदेख, मरेका वा नास भएका विरुवाका ठाउंमा बिरुवा लगाउने र सफा गर्न बांकी रहेका स्थानमा नगरका कर्मचारीले सफा गर्ने सरसफाइ शाखाका प्रमुख ठगिश्वर पोखरेलले जानकारी गराए ।

सडकमा फोहोर नफाल्न र सरसफाइ अभियानमा सहयोग गर्न बुटवल उपमहानगरपालिकाले नगरवासीलाइ अपिल गरेको छ ।