घर बेचेको पैसा नपाउंदा एक दम्पती बिचल्लीमा, घर किन्ने फरार

बुटवल, भदौ ३० गते । घर विक्री गरेको पैसा नपाउंदा रुपन्देही शुद्धोधन गाउंपालिका वडा नम्बर ४ निवासी मनरुपा रेग्मी परिवार समस्यामा परेको छ । रेग्मी परिवारले शनिबार रुपन्देहीको फर्साटिकरमा पत्रकार सम्मेलन गरी ठगिएको गुनासो गरेको छ ।

घर खरीद गरी एक व्यक्तिले स्थानीय एक वृद्ध दम्पत्तीसंग ६० लाख ठगी गरेको खुलसा भएको छ । रुपन्देहीको शुद्धोधन गाउंपालिका वडा नम्बर ४ निबासी मनरुपा रेग्मीको १५ धुरमा बनेको घर कपिलवस्तु ४ नम्बरका कुम्मज गिरीले २०७८ मंसिर १५ मा खरीद गरेका थिए । तर खरीद गर्दा विभिन्न मितिको ६३ लाखको चेक दिएपछि सोही चेकको विश्वासका आधारमा घरधनी मनरुपाले १५ धुरमा बनेको घर कुम्मज गिरीका नाममा रजिष्ट्रेशन पास गदिएका थिए ।

बुटवल–१२ तामनगर निवासी माया सुवेदीले जग्गा खरीद गर्ने गिरीलाई घरधनी मनरुपाका माईला ज्वाईं राजेश लम्सालसंग सम्पर्क भएको थियो । घरधनी मनरुपाले आफ्नै ज्वाईको विश्वासको आधारमा घर पास दिएको बताइन । ज्याई लम्सालले भने माया सुवेदीको विश्वासको आधारमा घर पासका लागि आफ्ना ससुरालीलाई सहमत गराएका थिए ।

घर बिक्रीका लागि स्थानीय माया सुवेदीले घर खरीद गर्ने मान्छे ल्याएपछि विश्वासमा परेर खरीद बिक्रीको काम भएको उनले बताए ।
घर खरीद गर्ने क्रममा बयनो बापत १० लाख रुपियांको चेक २०७८ मंसिर १५ गतेको मितिमा खरीदकर्ताले काटेका थिए । तर सो चेक पनि नसाटिएको र त्यस बापतको ४ लाख नगद ल्याएर दिएको घरधनी मनरुपाको गुनासो छ । त्यस्तै २०७८ माघ १५ गतेको मितिमा २५ लाखको चेक काटिएको छ भने २०७८ चैत ३० गतेको मितिमा २८ लाख रुपियांको चेक काटिएको छ । ती सबै जोड्दा चेकबापतको रकम ६३ लाख हुन आउंछ । त्यसबाहेक एक लाख छुट्टै नगद दिएकाले ६४ लाख घरधनीले पाउने गरी खरीद बिक्री भएको पाइएको छ । तर घर खरीद बिक्री गर्दा ७० लाखमा कागज भएको देखिएको छ । बांकी ६ लाख कारोबार गर्ने माया सुवेदीले कमिशन खाने मनसाय राखेको देखिएको छ ।

मनरुपाका श्रीमान रत्नखर रेग्मीले पैसा प्राप्त नहुंदासम्म आफूले घर पास नगरिदिन आग्रह गरेको तर ज्वाईंले भनेपछि पास दिएको जानकारी गराए । दुवै पक्षबीच मध्यस्थकर्ताको भूमिका खेलेकी माया सुवेदीले घर खरीद गरेर पैसा नतीर्दा आफू तनावमा परेको बताइन ।
घर बिक्री गरेका मनरुपा र रत्नखर रेग्मीले चेक बाउन्समा उजुरी हाल्ने तयारी गरेपनि खरीदकर्ता गिरीले नगद ल्याएर दिन्छु भन्दै झुलाएर ६ महिना कटाएको र अहिले काठमाडौंमा बस्दै आएको पीडित पक्षको भनाइ छ ।

पीडितले आफूहरुमाथि ठगी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा उजुरी दिएका छन् । तर प्रहरीले यसबारेमा कुनै कारवाही अघि बढाएको पाइएको छैन ।