मौसम सफा, चिसो भने रहिरहने

काठमाडौँ । मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा गराएको पश्चिमी न्यूनचापीय प्रणाली बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले उक्त प्रणाली बाहिरिएको र पश्चिमी वायुको प्रभाव कायम रहेकाले कतैकतै उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य असर देखिने भए पनि आजदेखि मौसम खुल्ने बताए ।

आज तराई भू–भागका धेरै स्थानमा हुस्सु–कुहिरो रहने, कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात÷वर्षाको हुनसक्ने जनाइएको छ ।

उनले चिसो भने केही दिन रहन सक्ने बताउँदै अब अर्को प्रणाली नआएसम्मलाई मौसम खुल्ने जानकारी दिए । उक्त प्रणालीले बुधबार काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा वर्षा गराएको थियो । विशेषगरी यो प्रणालीले मधेस र कोशी प्रदेशलाई सामान्यभन्दा छुन सकेन ।

उक्त प्रणालीले काठमाडौँमा २।२, ललितपुरमा ४।८ र भक्तपुरमा समाान ४।८ मिलिमिटर वर्षा गराएको छ । सबैभन्दा बढी सुर्खेतमा ४३ मिलिमिटर वर्षा भएको छ । रुकुमको शेरागाउँमा ३८ मिलिमिटर र जाजरकोटमा ३३ मिलिमिटर, बैतडीमा ३५।६, डडेलधुरामा ३३।२, बाजुरमा ३०।२, मनाङमा ३२।४ र डोल्पामा ३१ मिलिमिटर वर्षा भएको छ ।

नेपालको पश्चिम क्षेत्रका उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात पनि भएको छ । बागमती प्रदेशसहित पश्चिमका अधिकांश जिल्लामा बुधबार वर्षा भएको र ती जिल्लाका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात पनि गरायो ।