सरकार बनाउन अमेरिकालाई मार्गप्रशस्त – मसाल


बुटवल, फागुन २८ गते । सरनिर्माणका लागि अमेरिकालाई मार्गप्रशस्त भएको नेपालक म्युनिष्ट पार्टी मासालले बताएको छ । २०८२ फागुण २१ गते सम्पन्न आम चुनावमा आएको परिणामसंगै कठपुतली सरकारको निर्माणको लागि अमेरिकालाई मार्गप्रशस्त हुन गएको नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले ठहर गरेको छ । महामन्त्री मोहनविक्रम सिंहले फागुन २७ गते पे्रस विज्ञप्ती जारी गरी पार्टीको धारणा विज्ञप्तीमार्फत सार्वजनिक गरेका छन् ।
“भ्रामक प्रचारबाट जनतामा पनि धेरै भ्रम पर्न गयो र जुन व्यक्तिहरूमाथि सहकारीताको रकमको ठुलो पैमानामा हिनामिनाका आरोपहरू लागेका थिए, उनीहरू नै चुनावमा विजेताका रूपमा प्रस्तुत हुन सफल भए ।” महामन्त्री सिंहले अगाडि लेख्नुभएको छ– “त्यसको परिणाम यो भयो कि चुनावमा अमेरिकी साम्राज्यवादका लागि भेनेजुएला वा इरानमा जस्तो सैनिक कारबाही नगरिकन नेपालमा चुनावको माध्यमद्वारा आफ्नो कठपुतली सरकार निर्माणको लागि अमेरिकालाई सजिलैसित मार्गप्रशस्त हुन गयो ।”

भेटेजुएला र इरानको प्रसङ्गसँग नेपालको सन्दर्भलाई जोड्दै महामन्त्री सिंहले लेख्नुभएको छ– “भेनेजुएला र इरानमा सत्ता परिवर्तनको लागि अमेरिकाले सैनिक हमलाको नीति अपनाएको थियो तर नेपालमा संसदीय प्रकारले वा चुनावको माध्यमद्वारा नै त्यसले त्यो उद्देश्य पूरा गर्ने प्रयत्न ग¥यो र त्यसमा सफल पनि भएको छ । चुनावपछि आएको परिणामबारे विभिन्न राजनीतिक शक्ति, बुद्धिजीवी वा पत्रकारहरूले विभिन्न कोणबाट विश्लेषण गर्ने वा आफ्ना प्रतिक्रियाहरू दिने कामहरू गरिरहेका छन् ।”
त्यस्तै अगाडि लेखिएको छ– “…. त्यसबाट नेपालको राजनीतिमा अमेरिका जसरी हाबी भएर गएको छ, त्यसमाथि पर्दा परिरहनेछ र त्यसका घातक परिणामहरू हुनेछन् । देशको राष्ट्रियता, सार्वभौमिकता र शान्तिमा पनि त्यसबाट दीर्घकालिन रूपले कुठाराघात पुग्नेछ ।”

“अहिले देशमा जुन प्रकारको स्थिति तयार भयो । त्यसका लागि पुराना राजनीतिक पार्टीहरू पनि काफी हदसम्म जिम्मेवार छन् ।” मसालका महामन्त्री सिंहले पुराना राजनीतिक पार्टीहरूप्रति लक्षित गर्दै– “उनीहरूले अपनाउने गरेका भ्रष्ट र गैरजिम्मेवार नीति र क्रियाकलापहरूका कारणले जनतामा व्यापक रुपले असन्तोष र निराशाको वातावरण तयार भयो । त्यसको परिणामस्वरुप देशमा व्यापक रुपमा लोकप्रियतावादी जनमत तयार हुन गयो ।”
नेपाल कम्युनिस्ट पार्टी (मसाल)ले नेपालमा पनि अमेरिकी साम्राज्यवादका विरुद्ध व्यापक चेतना उठाउने तथा आन्दोलन उठाउनुपर्ने आवश्यकता छ र त्यसका लागि सम्पूर्ण न्यायप्रेमी र देशभक्त जनताको ध्यान आकर्षित समेत गरेको छ ।
प्रेस विज्ञप्तीको पूर्णपाठ
“२०८२ फागुण २१ गतेका लागि निर्धारित आम चुनाव सम्पन्न भएको छ । हाम्रो सुरुदेखि नै यो मत रहेको थियो कि अहिलेको चुनाव अनावश्यक थियो र खास गरेर अमेरिकी साम्राज्यवादको नेपालमा आफ्नो कठपुतली सरकार कायम गर्ने रणनीति अन्तर्गत नै संसदको विघटन र नयाँ चुनावको घोषणा गरिएको थियो । त्यो चुनावको परिणाम पनि अमेरिकाको योजना अनुसार नै सफल भएको छ र अब त्यसको कठपुतली सरकारको निर्माणको लागि चुनावले आधार तयार पारेको छ । यो नेपालको लागि अत्यन्त गम्भीर र चिन्ताको कुरा हो ।
आफ्ना साम्राज्यवादी स्वार्थ पूरा गर्न संसारका विभिन्न देशहरूका सरकारहरूमा हेरफेर गर्ने अमेरिकाको विश्वव्यापी रणनीति रहेको छ । त्यस सन्दर्भमा हालका ताजा घटनाहरूमा भेनेजुएला र इरानमा अमेरिकाले गरेका आक्रमणहरू उल्लेखनीय छन् । भेनेजुएलामा अमेरिकाले आक्रमण गरेर त्यहाँका राष्ट्रपति मदुरोलाई अपहरण गरेर पनि लग्यो र ट्रम्पले आफूलाई त्यहाँको कार्यबाहक राष्ट्रपति नै घोषणा गरे । तर इरानी जनताको वीरतापूर्ण प्रतिरोधको कारणले त्यसको इरानमा सत्ता परिवर्तन गर्ने नीति सफल हुन सकेको छैन् । तैपनि अमेरिकाले खुलेआम रुपले नै त्यहाँ सत्ता परिवर्तन गर्ने कुरामा जोड दिइरहेको छ र त्यसका लागि इरानमा अरू कैयौँ गुणा आक्रमण बढाएर लैजाने कुरा गरिरहेको छ । भेनेजुएला र इरानमा सत्ता परिवर्तनको लागि अमेरिकाले सैनिक हमलाको नीति अपनाएको थियो तर नेपालमा संसदीय प्रकारले वा चुनावको माध्यमद्वारा नै त्यसले त्यो उद्देश्य पूरा गर्ने प्रयत्न ग¥यो र त्यसमा सफल पनि भएको छ । चुनावपछि आएको परिणामबारे विभिन्न राजनीतिक शक्ति, बुद्धिजीवी वा पत्रकारहरूले विभिन्न कोणबाट विश्लेषण गर्ने वा आफ्ना प्रतिक्रियाहरू दिने कामहरू गरिरहेका छन् । तर त्यसका पछाडि अमेरिकाको जुन भूमिका रहेको छ र, त्यसबारे कसैले पनि एक शब्द उच्चारण गरेको पाइन्नन् । त्यो अत्यन्त गम्भीर चिन्ताजनक कुरा हो । त्यसबाट नेपालको राजनीतिमा अमेरिका जसरी हाबी भएर गएको छ, त्यसमाथि पर्दा परिरहनेछ र त्यसका घातक परिणामहरू हुनेछन् । देशको राष्ट्रियता, सार्वभौमिकता र शान्तिमा पनि त्यसबाट दीर्घकालिन रूपले कुठाराघात पुग्नेछ ।
जेनजी आन्दोलन र पछि चुनावको बेलामा पनि भ्रष्टचार र कुशासनको कुरालाई व्यापक रूपले उठाइयो । त्यो नेपालको गम्भीर र राष्ट्रिय समस्या हो र त्यसबाट राष्ट्रिय विकास र जनजीवनमा पनि अत्यन्त घातक असर परेको छ । जबसम्म देशमा भ्रष्टाचार र कुशासनको अन्त्य हुँदैन, देशको विकास हुन नसक्ने कुरा निश्चित छ ।
यो कुरामा कुनै शङ्का छैन कि पुराना राजनीतिक पार्टीहरू वा उनीहरूको नेतृत्वमा बनेका सरकारहरू नै त्यस प्रकारको भ्रष्टाचार वा कुशासनका लागि जिम्मेवार छन् । त्यसका साथै प्रशासनिक यन्त्र पनि त्यसका लागि गम्भीर रूपले जिम्मेवार छ । तर मुख्य रूपले राजनीतिक नेतृत्व नै जिम्मेबार छ किनभने राजनीतिक नेतृत्व सही भएको भए प्रशासन यन्त्रको भ्रष्टाचारमाथि नियन्त्रण गर्न सकिन्थ्यो ।
जेनजी आन्दोलन वा चुनावको बेलामा भ्रष्टाचार वा कुशासनको लागि पुराना राजनीतिक पार्टीहरूका भ्रष्ट नीति र क्रियाकलापबारे निकै आवाज उठेको थियो र त्यो सही पनि थियो । तर सहकारीका क्षेत्रमा गरेको ठुलो पैमानाको आर्थिक अनियमितता वा त्यसबारे अदालतमा भइरहेको कारबाहीलाई पनि राजनीतिकरण गरेर प्रतिशोध वा पूर्वाग्रह बताएर दबाउने प्रयत्न गरियो । त्यस प्रकारको भ्रामक प्रचारबाट जनतामा पनि धेरै भ्रम पर्न गयो र जुन व्यक्तिहरूमाथि सहकारीताको रकमको ठुलो पैमानामा हिनामिनाका आरोपहरू लागेका थिए, उनीहरू नै चुनावमा विजेताका रूपमा प्रस्तुत हुन सफल भए । त्यसको परिणाम यो भयो कि चुनावमा अमेरिकी साम्राज्यवादका लागि भेनेजुएला वा इरानमा जस्तो सैनिक कारबाही नगरिकन नेपालमा चुनावको माध्यमद्वारा आफ्नो कठपुतली सरकारको निर्माणको लागि अमेरिकालाई सजिलैसित मार्गप्रशस्त हुन गयो ।
अहिले देशमा जुन प्रकारको स्थिति तयार भयो । त्यसका लागि पुराना राजनीतिक पार्टीहरू पनि काफी हदसम्म जिम्मेवार छन् । उनीहरूले अपनाउने गरेका भ्रष्ट र गैरजिम्मेवार नीति र क्रियाकलापहरूका कारणले जनतामा व्यापक रुपले असन्तोष र निराशाको वातावरण तयार भयो । त्यसको परिणामस्वरुप देशमा व्यापक रुपमा लोकप्रियतावादी जनमत तयार हुन गयो । त्यस प्रकारको जनमतलाई आधार बनाएर एकातिर राजावादीहरूले राजतन्त्रको पुनस्र्थापनाका लागि प्रयत्न गर्न थालेका थिए भने अर्कातिर अमेरिकी साम्राज्यवादले नेपालमा आफ्नो साम्राज्यवादी उद्देश्यलाई पूरा गर्नको लागि खेल्ने मौका पायो ।
उपरोक्त प्रकारको स्थितिलाई हाम्रो पार्टीले गम्भीर रूपमा लिन्छ । यो स्थितिको गम्भीरतापूर्वक विश्लेषण गरेर आगामी नीति र कार्यक्रम निर्धारित गर्नुपर्ने आवश्यकता छ । हाम्रो पार्टीले देशमा हालै सम्पन्न चुनाव र त्यसपछि उत्पन्न स्थितिको मुल्याङ्कन गरेर आगामी नीति र कार्यक्रम निर्धारित गर्नेछ ।
यस सन्दर्भमा यो कुराको पनि उल्लेख नगरिकन रहन सकिन्न कि जेनजीहरूको मुख्य माग भ्रष्टाचारको उन्मुलन गर्नुपर्ने तथा सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध हटाउने कुरामा नै थियो । सामाजिक सञ्जालमा लगाएको प्रतिबन्धलाई पहिलेको सरकारले नै हटाइसकेको थियो । बाँकी रह्यो भ्रष्टाचारको निवारणको कुरा, त्यसको निवारणका लागि कहिल्यै पनि भ्रष्टाचारमा संलग्न नभएको र सँधै निष्कलङ्क छवि भएको पार्टी नै सही विकल्प हुन सक्दथ्यो । त्यस्तो पार्टी राष्ट्रिय जनमोर्चा नै भएको कुरा आम रूपमा थाहा भएको कुरा थियो । यदि भ्रष्टाचारको निवारण नै जेनजी आन्दोलनको मुख्य विषय भएको भए चुनावमा मुख्य रुपले राजमोका उम्मेदवार नै विजय हुनुपर्दथ्यो । तर त्यसका एक जना पनि उम्मेदवारको विजय भएन । त्यसबाट त्यो चुनाव भ्रष्टाचारलाई समाप्त गर्ने उद्देश्यद्वारा निर्देशित नभएको र त्यसको मुख्य उद्देश्य साम्राज्यवादको नै सेवा गर्ने भएको कुरामा कुनै शङ्का रहन्न । जनतामा स्पष्ट राजनीतिक चेतना भन्दा लोकप्रियतावादी मतको नै बढी असर परेको हुनाले चुनावबाट एउटा अवाञ्छित परिणाम आएको छ र यो स्पष्ट छ कि त्यसबाट देशमा गम्भीर प्रकारका दुष्परिणामहरू हुनेछन् । अहिले चुनाव पछि देशमा जुन प्रकारको स्थिति उत्पन्न भएको छ, त्यसमाथि गम्भीरतापूर्वक विचार गर्नुपर्ने आवश्यकता छ । त्यसको लागि सबैभन्दा महत्वपूर्ण कुरा के हो भने जनतामा अत्यन्त गम्भीर रुपमा देखा परेको लोकप्रियतावादी मतको ठाँउमा सही र स्पष्ट राजनीति दृष्टिकोणमाथि आधारित जनचेतनाको निर्माण हुनुपर्दछ र त्यसका लागि हाम्रो पार्टीले सम्पूर्ण जनताको ध्यान आकर्षित गर्न चाहन्छ ।
जेनजी वा जेनजी आन्दोलनबारे पनि देखा परेको भ्रमबाट देशको राजनीतिमा गम्भीर प्रकारको नकारात्मक असर परेको छ । संसारका सबै देशहरूमा जस्तै नेपालमा पनि जेनजी पुस्ताको महत्वपूर्ण योगदान रहने गरेको छ । वास्तवमा, जेनजीहरू समाजका महत्वपूर्ण कडीहरू हुन । उनीहरूको अभावमा कुनै पनि समाजको विकास अगाडि बढ्न नै सक्दैन । नेपालको राणा शासन, पञ्चायती निरङ्कुश शासन, राजतन्त्रका विरुद्ध वा स्वाधीनताको रक्षाको सङ्घर्षमा पनि उनीहरूले सँधै अग्रिम पंक्तिमा रहेर सङ्घर्ष गर्ने गरेका छन् । तर नेपालमा, एकातिर, राजावादीहरू र, अर्कातिर, साम्राज्यवादी शक्तिहरूले पनि उनीहरूलाई उपयोग गरेर आफ्ना उद्देश्यहरू पूरा गर्ने प्रयत्न गरेका छन् । जेनजीहरू आफ्ना सही र न्यायपूर्ण मागहरूका लागि शान्तिपूर्ण आन्दोलनमा उत्रेका थिए । तर एकातिर, साम्राज्यवादी र, अर्कातिर, प्रतिगामी राजनीतिक शक्तिहरूले त्यो आन्दोलनलाई हाइज्याक गरेर हिंसात्मक रूप दिने र त्यसरी जेनजीहरूलाई आफ्ना प्रतिगामी स्वार्थका लागि उपयोग गर्ने प्रयत्न गरे । त्यसबाट नेपाललाई ठुलो क्षति भयो र त्यसको परिणामस्वरुप देशमा अमेरिकाको कठपुतली सरकारको निर्माणको लागि पनि आधार तयार भयो ।
भाद्र २३ गतेको जेनजीहरूको आन्दोलनमा जुन ठुलो पैमानामा हत्या गरियो, त्यसलाई कुनै पनि अवस्थामा सही भन्न सकिन्न र त्यसका लागि ओली सरकार जिम्मेवार भएको कुरा पनि प्रस्ट छ । त्यो दिन कलिला विद्यार्थीहरूलाई छाती वा टाउकोमा ताकिताकि गोलि हानिएको थियो । त्यो निश्चित रूपले अत्यन्त गम्भीर र जघन्य अपराध थियो । त्यससँग जोडिएको अर्को पक्षप्रति पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ । जेनजीहरूले त्यो आन्दोलनलाई शान्तिपूर्ण तरिकाले अगाडि बढाउने बताएका थिए र जब त्यसले हिंसात्मक रूप लिन थाल्यो, आन्दोलनकारीहरूलाई फर्केर जान भनिएको थियो । तैपनि आन्दोलनकारीहरूलाई प्रहरीको व्यारेक तोडने, संसद भवनमा जबरजस्ती घुस्ने र तोडफोड गर्ने जस्तो हिंसात्मक कार्यको लागि उक्साइयो । स्पस्ट छ कि त्यसरी जेनजीहरूलाई हिंसात्मक कार्यमा प्रोत्साहित गर्ने कार्य जेनजी भन्दा बाहिरका तत्वहरूले नै गरेका थिए, जो स्वयम् जेनजी थिएनन् र उनीहरूलाई ठुलो संख्यामा सहिद बनाएर आफ्ना उद्देश्यहरू पूरा गर्न चाहन्थे । जेनजी भन्नाले २८ वर्ष सम्मका युवाहरू नै आउँछन् । कैयौँ २८ वर्ष भन्दा माथिका व्यक्तिहरू जसलाई गैर जेनजी वा कथित जेनजी भन्न सकिन्छ । उनीहरूले नै त्यो आन्दोलनलाई हिंसात्मक रूप दिने योजनाबद्ध प्रकारले प्रयत्न गरेको सम्भावनालाई पनि अस्वीकार गर्न सकिन्न ।
भाद्र २३ गतेको नरसंहारमाथि विचार गर्दा ती दुबै पक्षहरू, सरकारका तर्फबाट गरिएको गोली प्रहार र कथित जेनजीहरूद्वारा जेनजीहरूको शान्तिपूर्ण आन्दोलनलाई हिंसात्मक रूप दिन सनियत गरिएको प्रयत्न, ती दुबै पक्षहरूमाथि छानविन गरेर दोषीमाथि आवश्यक कारबाही गर्नुपर्ने आवश्यकतामा हामीले जोड दिन्छौँ ।
यो कुराको सजिलैसित अनुमान गर्न सकिन्छ कि भाद्र २४ गते देशव्यापी रूपमा जुन तोडफोड, आगलागी वा ध्वंसात्मक कार्यहरू भए, ती कार्यहरू पनि जेनजीहरूद्वारा गरिएका थिएनन् । उनीहरूको आन्दोलनको कार्यक्रममा त्यस प्रकारका गतिविधिहरू समावेश थिएनन् र देशव्यापी रूपमा त्यस प्रकारका कार्यहरू लामो समयदेखिको तयारी वा त्यस प्रकारका अपराधजन्य कार्यहरूका लागि तालिम प्राप्त व्यक्तिहरूद्वारा नै हुन सक्दथे । जेनजीहरू न त्यस प्रकारका अपराधजन्य कार्यका लागि तालिम प्राप्त थिए न पहिलेदेखि नै उनीहरूको त्यस प्रकारको कुनै तयारी थियो । त्यसकारण, उनीहरूद्वारा त्यस प्रकारका अपराधजन्य कार्यहरू हुन सक्ने सम्भावना नै थिएन । त्यो बाहेक त्यो दिन केही घण्टाभित्र देशव्यापी रूपमा नै ती कार्यहरू भएका थिए र जेनजीहरूको स्वस्फूर्त आन्दोलनद्वारा देशव्यापी रूपमा त्यस प्रकारका कार्यहरू पनि हुन सक्दैनथे । तथ्यहरूले यो कुरा बताइसकेका छन् कि विभिन्न विदेशी खुफिया एजेन्सीहरू देशभित्रका प्रतिगामी शक्तिहरू, असमाजिक तत्वहरू र कथित जेनजीहरू नै त्यस प्रकारका तोडफोड, आगलागी वा ध्वंसात्मक कार्यका लागि जिम्मेवार थिए ।
सरकारले भाद्र २३ गते र २४ गतेका घटनाहरूको छानबिनको लागि जाँचबुच आयोग बनाएको थियो र त्यसले आफ्नो प्रतिवेदन प्रधानमन्त्रीलाई पनि बुझाइसकेको छ । तर त्यसलाई अझै सार्वजनिक गरिएको छैन । त्यसैले त्यो छानविन कहाँसम्म न्यायोचित र निर्भिकतापूर्वक गरिएको छ ? त्यो कुरा त्यो प्रतिवेदन सार्वजनिक गरेपछि नै थाहा हुनेछ । त्यसपछि पनि यो प्रश्न बाकी नै रहन्छ, त्यो जाँचबुझ आयोगका सिफारिसहरूलाई सरकारले कहाँसम्म इमान्दारितापूर्वक लागु गर्नेछ ?
यो सम्भावनालाई पनि अस्वीकार गर्न सकिन्न कि भाद्र २३ र २४ गतेका हिंसात्मक घटनाहरूसित सम्बन्धित ती बेग्लाबेग्लै पक्षहरूले आफ्ना तर्फबाट भएका कार्यहरूका विरुद्ध कुनै कारबाही नगर्नका लागि दबाव दिनेछन् । पहिलेको ओली सरकार अब सत्तामा नभएको हुनाले त्यसले आफ्ना विरुद्ध कुनै कारबाही नगर्नको लागि दबाब दिने सम्भावना कमै छ तर कथित जेनजीहरूको नेतृत्वमा नै सरकार बन्न थालिरहेको हुनाले उनीहरूका सबै अपराधजन्य कार्यहरूका लागि कारबाही नगर्नका लागि दबाव दिने सम्भावना अत्याधिक छ । जाँचबुझ आयोगको छानविन वा त्यसका सुझावहरू तिनीहरू मध्ये कुनै पक्षको दबाबद्वारा प्रभावित रहेको छ वा छैन ? त्यो कुरा त्यो प्रतिवेदन सार्वजनिक भएपछि नै थाहा हुनेछ वा त्यसलाई विना कुनै दबाब निष्पक्षतापूर्वक कार्यान्वयन गरिने छ वा छैन ? त्यो कुरा पछि नै थाहा हुनेछ ।
त्यसका साथै त्यो प्रतिवेदनलाई कार्यान्वयन गर्ने जिम्मा वर्तमान अन्तरिम सरकारको हुनेछ वा नयाँ बन्ने सरकारको र उनीहरूले कहाँसम्म निष्पक्षतापूर्वक भाद्र २३ वा २४ गतेका गैरजिम्मेवार कार्यहरूका लागि न्यायोचित कारवाही गर्न सक्नेछन् वा त्यो प्रतिवेदनलाई पहिले सँधै झै रद्धीको टोकरीमा फालिने छ ? त्यो सबै कुराहरू पछि नै थाहा हुनेछ । तर हाम्रो जोड यो कुरामा छ कि भाद्र २३ को हत्याकाण्ड, जेनजीहरूको शान्तिपूर्ण आन्दोलनलाई हिंसात्मक रूप दिन प्रयत्न गर्ने तत्वहरू वा २४ गतेको तोडफोड, आगलागी वा ध्वंसात्मक कार्यहरूका लागि जिम्मेवार तत्वहरू आदि सबैका विरूद्ध न्यायोचित कारबाही गरिनु पर्दछ अन्यथा देशमा द्वन्द्वहीनताको अवस्था उत्पन्न हुनेछ ।
नेपालमा अहिले जुन राजनीतिक स्थिति पैदा भएको छ, त्यसमाथि खाली विशुद्ध राष्ट्रिय दृष्टिकोणले मात्र विचार गर्नु सही हुने छैन । अहिले अमेरिकी साम्राज्यवादले खास गरेर ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि, त्यसले विश्वव्यापी रूपमा नै आतङ्क मच्चाइरहेको छ । त्यसले अन्तर्राष्ट्रिय कानुन वा संयुक्त राष्ट्र सङ्घको समेत अतिक्रमण गरेर ग्रीनल्याण्डलाई कब्जा गर्ने, क्यानडालाई अमेरिकाको राज्य बनाउने पनामा नहरलाई कब्जा गर्ने वा भेनेजुएलामा आक्रमण गरेर त्यहाँका राष्ट्रपतिलाई अपहरण गर्ने तथा इरानमाथि हमला गरेर त्यहाँ आफ्नो कठपुतली सरकार बनाउने समेत जुन काम गरिरहेको छ, त्यसबाट अमेरिकी साम्राज्यवादले खुला र नाङ्गो प्रकारको आतङ्कवाद रूप लिएको कुरामा कुनै शङ्का रहन्न । त्यस प्रकारको अन्तर्राष्ट्रिय सन्दर्भमा नै हामीले नेपालमा पनि अमेरिकी साम्राज्यवादका विरुद्ध व्यापक चेतना उठाउने तथा आन्दोलन उठाउनुपर्ने आवश्यकता छ र त्यसका लागि हामीले सम्पूर्ण न्यायप्रेमी र देशभक्त जनताको ध्यान आकर्षित गर्न चाहन्छौँ ।”
२०८२ फागुन २७ गते
मोहनविक्रम सिंह
(महामन्त्री)























