आरन बनाउने ठाउंको खोजीमा काजीमान

    श्यामलाल पोखरेल
बुटवल, फागुन २९ गते । पुर्खौली पेशा संकटमा परेपनि आफ्नो पेशाप्रति प्रतिवद्द छन्, काजीमान विश्वकर्मा । जिजुदेखि बाउबाजेका पालादेखिको पेशामा लागेका ६५ वर्षिय काजीमान पुर्खौली पेशा धान्दै आएका छन् ।

आधुनिक युगसंगै विद्युतीय विकासका कारण आरन पेशा संकटमा परेपनि जीविका चलाउन पनि उनलाई आरन चलाउने आफ्नो् पुर्खौली पेशा छोड्न सम्भब छैन । २०५९ सालमा बाग्लुङको तत्कालिन छिस्ती गाविस र हालको जैमिनी नगरपालिकाबाट बसाई सराई गरी रुपन्देहीको सैनामैना नगरपालिका १ बर्माचोकमा बस्दै आएका काजीमानले बुटवलको कालिकानगरमा आर्ने काम आरन पेशा चलाउंदै आएका छन् ।

१२ वर्षको उमेरदेखि फलामका घरायसी औजारहरु बनाउने काममा लागेको बताउने उनले बुटवलको कालिकापथको सडक किनारमा आरन चलाउंदै आएका छन् । बाउ बाजेको पेशा छोरानातीले नगरेपनि आफ्नो हात खुट्टा चल्दासम्म पेशालाई निरन्तरता दिने मन भएपनि ठाउंको अभावले पेशाबाट विस्थापित हुनुपर्ने हो की भन्ने चिन्तामा छन्, काजीमान विश्वकर्मा ।

फलामबाट बन्ने हसिया, खुकुरी, कोदाला, फरुवा, खुकुरी, चक्कु लगायतका घरायसी औजारहरु बनाउन सिपालु काजीमानका लागि आरन राख्ने ठाउंको अभावले समस्यामा छन् । कालिकापथ सडक किनारमा सामान्य टिनको पाता ठडाएर आरन चलाउंदै आएका काजीमान आरन राख्ने ठाउंको खोजीमा छन् । नगरपालिकाले सामान्य अनुदान दिएपनि भाडा तिरेर पेशा धान्न सक्ने अवस्था नभएको बताउछन् । व्यक्तिको जग्गामा आफै टिन ठडाएर आरन चलाउंदा मासिक पांच हजार तिर्नुपरेको र घर वा सटर भाडामा लिंदा भाडा तिर्न नसकिने बताउछन्, काजीमान ।

बिहानदेखि सांझसम्म फलामका औजारहरु बनाएर दैनिकी चलाउंदै आएका ६५ वर्षिय वृद्द काजीमान भन्छन्, पानी, हावाहुरी छेक्ने आरन बनाएर काम गर्ने इच्छा छ । आर्ने पेशा छोड्ने मन नभएपनि आरन राख्ने ठाउंको अभावले आफ्नो पुख्र्यौली पेशा छोड्नु पर्ने अवस्था आएको गुनासो गर्छन काजीमान ।

बाउ बाजेको पालमा तामो गलाएर बाग्लुङमा गाग्री, ताउला, रोचे, लोटा, अमखरा, बेला बनाएको स्मरण गर्दै उनले भने ओत लाग्ने खालको राम्रो आरनभा फलाम र तामाका पुराना पुराना बनाउने थे, गरिब भएका कारण आरन बनाउन नसक्दा जानेको सीप पनि देखाउन सकेको छैन ।
अस्थायी रुपमा आरन बनाउनका लागि सानो तिनो ठाउं दिन स्थानीय सरकारसंग उनले माग गरेका छन् । आरन बनाउन मिल्ने ठाउं भए पुरानो घरायसी हातहतियार बनाउने आर्ने पेशालाई पुस्तान्त्रण गर्ने उनको चाहाना छ ।

सामान्य पानी र हावा नछेक्ने आरन चलाउंदै आएका काजीमानको फलामका औजार बनाउनका लागि दैनिक सेवाग्राही आउने गर्दछन् ।
भ जस्तो आरन नभएपनि काजीमानलाई फलामका भाडा तथा औजारहरु बनाउन भ्याइ नभ्याई छ । कहिले कांही २, ३ हजार हजारसम्म कमाइ हुने र कहिले थोरै भएपनि जीवीका जनतन चलेको बताउछन् उनी ।

श्रीमतीसहित चार भाइ छोरा र पांच बैनी छोरीहरु यही पुर्खौली आर्ने पेशाबाट हुर्काएका काजीमानका जेठा छोरा देवीराम विश्वकर्माले पनि बाउ बाजेको पेशा अगालेका छन् । काजीमानका अन्य छोरा छोरी भने यो पेशामा लागेका छेनन् ।

नयां पुस्ता यो पेशामा नलग्दा र आधुनिक विद्युतीय औजार बन्न थालेकाले कतै पुखौली पेशा लोप हुनेहोकी भन्ने कहीले काही चिन्ता लाग्ने गरेको बताउछन्, काजीमान विश्वकर्मा ।