संघीयताबिरुद्द राष्ट्रयताको पक्षमा मतदान गरौं – चित्रबहादुर

बुटवल, माघ २१ गते । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयताको बिरुद्द, राष्टियता, सार्वभौमिकता र अखण्डताको पक्षमा मतदान गर्न आममतदातालाई अपिल गरेका छन् । संघीयताको बिरुद्द, राष्टियता, सार्वभौमिकता र अखण्डताको पक्षमा उभिएको शक्ति राष्ट्रिय जनमोर्चा मात्रै भएको अध्यक्ष केसीको दावी छ।

फागुन २१ मा हुने निर्वाचन राष्ट्रबादी र राष्ट्रघाती शक्ति बिचको भएको बताउंदै एजेण्डा हेरेर मात्र मतदान गर्न मतदातालाई आग्रह गरे ।
मंगलबार बुटवलमा रुपन्देही क्षेत्र नम्बर २ को प्रचार प्रसार निर्वाचन समितिको भेलामा बोल्दै आफुलाई नयां भन्नेहरु विदेशीको इसारामा चलेको आरोप लगाउंदै नयां भन्नेहरुबाट देश खतरामा परेको बताए ।

अध्यक्ष केसीले काँग्रेस, एमाले, माओवादीका रिसले आफुलाई नयां भन्ने रास्वपाले देश नै सिध्याउने खेलमा लागेको उल्लेख गर्दै काँग्रेस, एमाले, माओवादीले देशलाई भ्रष्टाचारमा डुबाएर बर्बाद पारेपनि गणतन्त्रमा विश्वास गर्ने शक्ति भएको बताए ।
उक्त भेलामा रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रुकबहादुर पराजुली, समानुपातिक उम्मेदवार सहप्रध्यापक लिलबहादुर केसी, अर्का समानुपातिक उम्मेदवार गणेश गौतम, कम्युनिष्ट संग्रालयका अध्यक्ष चेतनाथ आचार्य, राष्ट्रिय जनमोर्चा बुटवल नगर अध्यक्ष पदम श्रेष्ठलगायतका नेताहरुले आआफ्ना भनाइ राखेका थिए ।

भेलाले ७७ सदस्य रहेको निर्वाचन प्रचार प्रसार समिति गठन गर्नुका साथै १३ सदस्य रहेको सचिवालय गठन गरेको छ । त्यस्तै भेलाले रुपन्देही निर्वाचन क्षेत्रलाई तारगेट गरी ११ वटा प्रचार प्रसार उपसमिति गठन गरेको राष्ट्रिय जनमोर्चा रुपन्देही सदस्य भिमलाल न्यौपानले जानकारी गराएका छन् ।
समानुपातिक उम्मेदवार सहप्रध्यापक लिलबहादुर केसीको अध्यक्षता र राष्ट्रिय जनमोर्चा रुपन्देही सचिव कृष्णप्रसाद पोखरेलको सञ्चालनमा कार्यक्रम भएको थियो ।