राजमो नेता नारायण जीसीको निधन

बुटवल, फागुन १ गते । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य नारायण जीसीको निधन भएको छ ।प्यूठान झिमरुक तुसारा निवासी जीसीको उपचारको क्रममा शुक्रबार अर्थात फागुन १ गते ललितपुरस्थित हस्पिक केयर सेन्टरमा निधन भएको हो ।

ब्रेन ट्युमरग्रस्त जीसीको निधनप्रति दुख व्यक्त गर्दै नेकपा (मसाल) ले श्रद्धाञ्जली व्यक्त गरेको छ ।

नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले शुक्रबार नै शोकवक्तव्यमा जारी गरी स्व. नारायण जीसीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवदेना प्रकट गरेका छन् ।

राष्ट्रिय जनमोर्चाका अध्यष चित्रबहादुर केसीले पनि शोकविज्ञप्ती जारी गरी केन्द्रिय सदस्य स्व. नारायण जीसीप्रति श्रदाञ्जली अर्पण गर्दै घर परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।

त्यस्तै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका अध्यक्ष पे्रम पौडेलले एकता समाजका पूर्व केन्द्रिय सदस्य नारायण जीसीको निधनप्रति दुख प्रकट गर्दै परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

शोकवक्तव्यको पूर्णपाठ 

“प्युठान जिल्ला झिम्रुक गाउँपालिका–७ निवासी कामरेड नारायण जिसी (का. झिमरुक) को २०८२ फागुन १ गते ललितपुरस्थित हस्पिक केयर सेन्टरमा मृत्यु भएको छ । हामीले उहाँको मृत्युप्रति गहिरो दुःख व्यक्त गर्दै उहाँकी जीवनसाथी अखिल नेपाल महिला सङ्घ केन्द्रीय सचिव तारा जिसीसहित सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ ।

कामरेड नारायण जिसीले भारतस्थित नेपालीहरूको लोकप्रिय सङ्गठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका विभिन्न तहमा रहेर काम गर्नुभएको थियो । उहाँ नेपाल कम्युनिस्ट पार्टी (मसाल) को इमानदार, कर्तव्यनिष्ठ, अनुशासित र जुझारु सदस्य हुनुहुन्थ्यो ।

उहाँले रुपन्देही जिल्लामा हाम्रो पार्टीको प्रवक्ताको जिम्मेवारी निर्वाह गर्नुभएको थियो । पछिल्लो समयमा उहाँ राष्ट्रिय जनमोर्चाको केन्द्रीय सदस्य हुनका साथै नेपाल कम्युनिस्ट पार्टी (मसाल) प्युठान जिल्लाको सदस्य हुनुहुन्थ्यो । उहाँको मृत्युबाट हाम्रो पार्टीको आन्दोलन तथा प्युठान जिल्लाको कम्युनिस्ट आन्दोलनलाई गम्भीर क्षति भएको छ । अन्तमा हामीले उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ ।”

स्मृतिशेष जिसी भारतमा रहँदा मूल प्रवाहका साथै तत्कालीन अखिल भारत नेपाली वामपन्थी युवक मोर्चाको केन्द्रीय सदस्य रहेर पनि क्रियाशील हुनुहुन्नछ । स्वदेश फर्किएपछि उहाँ राजमो केन्द्रीय सदस्यसँगै नेकपा (मसाल) प्युठानको प्रवक्तासमेत रहनुभएको थियो ।