टी-२० विश्वकपः नेपालको लज्जास्पद हार

काठमाडौँ । भारत र श्रीलंकाको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकप क्रिकेटको समूह चरणको दोस्रो खेलमा नेपालले लज्जास्पद हार बेहोरेको छ । नेपालले कमजोर आँकिएको इटालीसँग १० विकेटको हार बेहोरेको हो ।

पहिलो खेलमा दुई पटकको च्याम्पियन इङ्गल्याण्डमाथि चार रनको बेहोर्ने क्रममा अनपेक्षित प्रदर्शन गरेकाले बढी नै अपेक्षा गरिएको नेपालले इटालीसँग भने १० विकेटको हार बेहोरेको हो ।

खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै ३ बल खेल्न बाँकी छँदै सबै विकेट गुमाएर १२३ रनमात्र बनायो । आरिफ शेखले २४ बलमा २७ तथा कप्तान रोहित पौडेलले १४ बलमा २३ रन बनाएको इनिड्समा आसिफ शेखले २० तथा करण केसीले १८ रन बनाए बाहेक अन्य कसैले दोहोरो स्कोर जोड्न सकेनन् । क्रिशान कालुगमानेले ३ विकेट लिए ।

जवाफमा इटालीले १२ ओभर ४ बलमै कुनै विकेट नगुमाइ जित हासिल गर्यो । एन्थोनि मोस्काले ३२ बलमा ६२ तथा जस्टिन मोस्काले ४४ बलमा ६० रन जोडे । बलिङतर्फ कुनै पनि खेलाडीले सम्झनयोग्य बलिङ गरेनन्। भारतको मुम्बईस्थित वाङ्खेडेको मैदानमा भएको यो खेल हारेसँगै जोशका साथ खेल हेर्न पुगेका नेपाली प्रशंसक निराश भएर फर्केका छन् ।

यसअघि इटाली पहिलो खेलमा स्कटल्याण्डसँग ७३ रनले पराजित भएको थियो । यो समूहमा दुई पटकका विजेताहरू वेष्ट इन्डिज र इङ्गल्याण्ड रहेकाले यसलाई ग्रुप अफ डेथ मानिन्छ । नेपालको यसपटकको प्रदर्शनलाई लिएर विश्वभर नै चर्चा छ । तेस्रो पटक टी(२० विश्वकप खेलिरहँदा नेपालले इङ्गल्याण्डसँग देखाएको प्रदर्शन उच्चकोटीको थियो ।

यस्तो थियो इङ्गल्याण्डविरुद्धको खेल

भारतको मुम्बईस्थित वाङ्खेडे मैदानमा भएको खेलमा नेपाल मात्र चार रनले पराजित भएको हो । १८५ रनको चुनौती पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८० रन बनायो । अन्तिम ओभरमा जितका लागि १० रनको आवश्यकता रहेकामा नेपालले ५ रनमात्र बनाउन सक्यो ।

दीपेन्द्र सिंह ऐरीले ४४, कप्तान रोहित पौडेलले ३९ तथा लोकेश बमले २० बलमा अविजित रहँदै ३९ रन बनाए पनि टिम विजयी हुन सकेन । नेपालले मन जिते पनि म्याच भने जित्न नसकेको हो ।

नेपालको इनिङ्स

नेपालले ३.५ ओभरमा ३७ रन जोड्दा पहिलो विकेट गुमायो । आसिफ शेख ९ बलमा ७ रन बनाएर आउट भए । ५.२ ओभरमा नेपालले ४२ रन जोड्दा कुशल भुर्तेललाई गुमायो । कुशलले १७ बलमा २९ रन जोडे । १४.२ ओभरमा नेपालले १२४ रन जोड्दा तेस्रो विकेट गुमायो । तेस्रो विकेटका लागि रोहित पौडेलसँग मिलेर ८२ रनको साझेदारी गर्ने क्रममा दीपेन्द्र सिंह ऐरीले २९ बलमा ४४ रन बनाए ।

नेपालले १५.३ ओभरमा १२७ रन जोड्दा चौथो विकेट गुमायो । कप्तान रोहित पौडेल ३४ बलमा ३९ रन बनाएर आउट भए । नेपालले १७.२ ओभरमा १४६ रन बनाउँदा पाँचौँ विकेट गुमायो । आरिफ शेख ८ बलमा १० रन बनाएर आउट भए । नेपालले १९ ओभरमा १७५ रन बनाउँदा छैटौँ विकेट गुमायो । गुल्सन झा २ बलमा १ रन बनाएर आउट भए ।

इङ्गल्याण्डको इनिङ्स
खेलमा टस जितेर पहिले ब्याटिङ गरेको इङ्गल्याण्डले ७ विकेटको क्षतिमा १८४ रन बनायो । इङ्गल्याण्डका लागि ज्याकब बेथेल र कप्तान ह्यारि ब्रुकले अर्धशतक बनाए । विल ज्याक्सले १८ बलमा अजिजित रहँदै ३९ रन जोडे ।

नेपालका लागि नन्दन यादव र दीपेन्द्र सिंह ऐरीले समान २ विकेट लिए । शेर मल्ल र सन्दीप लामिछानेले समान १ विकेट लिए । महँगा सावित भएका कुशल भुर्तेलले ४० तथा करण केसीले ३५ रन दिए पनि विकेट लिएनन् ।

५ रन जोड्दा पहिलो विकेट गुमाएको इङ्गल्याण्डले ४३ रन जोड्दा दोस्रो विकेट गुमायो । त्यस्तै ५७ रन जोड्दा तेस्रो विकेट गुमायो । फिल साल्टलाई डेब्यु खेलाडी शेर मल्लले पहिलो बलमै आउट गरे । साल्टले २ बलमा एक रनमात्र बनाए ।

त्यस्तै जोस बटलरलाई नन्दन यादवले आउट गरे । बटलरले १७ बलमा २६ रन बनाए । त्यस्तै सन्दीप लामिछानेले पहिलो बलमै टम बान्टनलाई एलबीडब्ल्यू आउट गरे । बान्टनले ५ बलमा २ रनमात्र बनाउन सके । तर चौथो विकेटका लागि ७१ रनको साझेदारी भएसँगै इङ्गल्याण्ड उच्च योगफलतर्फ अगाडि बढ्यो । सो क्रममा ज्याकब बेथेलले ३५ बलमा ५५ रन जोडे । उनलाई दीपेन्द्र सिंह ऐरीले आउट गरे ।

त्यस्तै १३७ रन जोड्दा इङ्गल्याण्डले पाँचौँ विकेट गुमायो । साम कुरान ८ बलमा २ रन बनाएर आउट भए । दीपेन्द्र सिंह ऐरीले आफ्नो दोस्रो विकेट लिए ।
त्यस्तै १५७ रन जोड्दा इङ्गल्याण्डले छैटौँ विकेट गुमायो । कप्तान ह्यारि ब्रुक ३२ बलमा ५३ रन बनाएर आउट भए । उनलाई नन्दन यादवले आउट गरे । नन्दनको यो दोस्रो विकेट हो ।

१७८ रन जोड्दा इङ्गल्याण्डले सातौँ विकेट गुमायो । जोफ्रा आर्चर १ रन बनाएर रन आउट भए । अन्तिम ओभरमा इङ्गल्याण्डले २१ रन बनायो । करण केसी महँगा सावित भए ।

नेपालले बनायो यस्तो रेकर्ड
नेपालले पहिलो विकेटका लागि टी–२० मा सर्वाधिक ३७ रन जोडेको छ । सो क्रममा कुशल भुर्तेलले १७ बलमा २९ तथा आसिफ शेखले ९ बलमा ७ रन बनाए । यसअघि सुवास खकुरेल र सागर पुनबीच ३६ रनको साझेदारी रहेको थियो ।