पहिलो पटक चुनावमा होमिएको नेकपा माओवादीको घोषणापत्र सार्वजनिक

बुटवल, फागुन १ गते । विप्लव नेतृत्व नेपाल कम्युनिष्ट पार्टी माओवादी रुपन्देहीले ३१ औं जनयुद्ध दिवसको अवसर पारेर निर्वाचन लक्षित घोषणापत्र सार्वजनिक गरेको छ ।
पहिलो पटक निर्वाचनमा भाग लिएको यो पार्टीले जनयुद्धका सपना पुरा गर्ने गरी निर्वाचन लक्षित प्रतिवद्दता तथा घोषणापत्र सार्वजनिक गरेको हो ।
शनिबार बुटवलमा पत्रकार सम्मेलन गरी पार्टीका पोलिटव्यूरो सदस्य तथा निर्वाचन परिचालन रुपन्देही संयोजक बसन्त श्रेष्ठ, केन्द्रिय सदस्य शरद वली र रुपन्देहीबाट प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरुले संयुक्त रुपमा निर्वाचन घोषणापत्र सार्वजसिनक गरेका हुन् ।
भ्रष्टाचार मुक्त समाज, सुशासन कायम, विकासका एजेन्डासहित संविधानको पुर्नरलेखन प्रतयक्ष निर्वाचनबाट प्रणालीबाट कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्ने लगायतका थुप्रै एजेण्डा घोषणापत्रमा उल्लेख गरिएको छ ।

उक्त तुनावी घोषणापत्रमा भ्रष्टाचार नियन्त्रणलाई कडाइका साथ अघि बढाउने, भ्रष्टचारका आरोपीहरुलाई छानिविन गरी दोषी भेटिएमा उनीहरुले भ्रष्टाचार गरेर थुपारेको सम्पत्ति राष्ट्रियकरण गर्ने, गम्भीर भ्रष्टाचार र मानवता विरोधी अपराधमा कडा कारबाही गरिने ।
सहकारी पीडितको बचत फिर्ता गराउने, मिटरब्याज नियन्त्रण गर्ने तथा सरकारी कार्यालयमा हुने ढिलासुस्ती, घुसखोरी र बिचौलियाको अन्त्य गर्ने घोषणापत्रमा प्रतिवद्धता जनाईएको छ ।

त्यस्तै कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित समयमै मल, बीउ, सिँचाइ सुविधा उपलब्ध गराई किसानलाई प्रत्यक्ष बजार सम्मको पहुँच सुनिश्चित गरिने, पर्यटनको प्रचुरमा मात्रमा विकास गर्ने, शिक्षा, स्वास्थ्य निःशुल्क गर्ने, खेलकुंद क्षेत्रमा लगानी बढाउने, सामुदायिक विद्यालय सुदृढ गरी सीपमूलक तथा आईटी शिक्षालाई विस्तार गर्ने योजना चुनावी घोषाणापत्रमा उल्लेख गरिएको छ ।

उक्त कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी माओवादीका केन्द्रिय सदस्य बसन्त श्रेष्ठले यो चुनावले भ्रष्टाचारको विउ रोप्ने बताए । उनले जेनजीले उठाएको माग आफ्नो पार्टीले शुरुदेखि उठाउंदै आएको र भ्रष्टाचारबिरुद्द सशासनको पक्षमा लड्दै आएको बताए ।
नेता श्रेष्ठले जनआन्दोलनको मर्म अनुसार सत्तामा रहेका पार्टीहरुले काम गर्न नसकेकाले अहिले देशले यो अवस्था भोग्नु परेको बताउंदै देशलाई सही प्रकारले निकास दिने खालका नीति तथा कार्यक्रमसहित एजेण्डा हामीसंग मात्रै भएको दावी गरे । उनले आफुलाई नयां शक्ति भन्नेहरुमा पुरानाको पुरै संक्रमण सल्किएको बताउंदै नयां शक्ति भन्ने झन खराब रहेको भन्दै आलोचना गरे ।

नेकपा रुपन्देही क्षेत्र नम्बर २ का प्रत्यक्ष तर्फका उम्मेदवार बिरेन्द्र विकले स्थायी राजनीनि, सुशासन र सामाजिक न्यायलाई मुख्य प्राथमिकतामा राखिएको बताए ।
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको निर्वाचन प्रणाली लागू गर्न पहल गर्ने, तीन तहका सरकारबीच दोहोरो कर प्रणाली हटाई सर्वशुलभ कर व्यवस्था लागू गर्ने तथा साना–मझौला व्यवसायीलाई सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

जनताको विश्वास जितेर समृद्ध, समानतामूलक र न्यायपूर्ण समाज निर्माण गर्ने, जनताको चाहाना अनुसार विकास गर्ने, रोजगारी सिर्जन ागर्ने, सुशासन र सामाजिक न्यायलाई केन्द्रमा राखेर अघि बढ्ने स्पष्ट नीति तथा कार्यक्रम जनताको बिचमा ल्याएर चुनावमा भाग ल्याएको बताए ।
कार्यक्रममा पत्रकार महासंघ रुपन्देही अध्यक्ष दिनेश पाण्डे, नेकपा माओवादी रुपन्देही क्षेत्र नम्बर ४ का प्रत्यक्ष उम्मेदवार विष्णु तिवारी र क्षेत्र नम्बर ५ का प्रत्यक्ष उम्मेदवार विष्णु भट्राईले लगायतले बोलेका थिए ।

निर्वाचन परिचालन समितिका संयोजक वसन्त श्रेष्ठको अध्यक्षता र केन्द्रिय सदस्य शरद वलीको सञ्चालनमा कार्यक्रम भएको थियो ।