नेमकिपाका रुपन्देही उम्मेदवार चुनावको प्रचाार गर्दै घर दैलोमा


बुटवल, फागुन ११ गते । नेपाल मजदुर किसान पार्टीको तर्फबाट रुपन्देही क्षेत्र नं. ५ का उम्मेदवार जगीलाल थापाले चुनावी प्रचार प्रसारको अभियानलाई तीव्रता दिएका छन् ।

आगामी फागुन २१ गते प्रतिनीधि सभा सदस्य पदका लागि हुने निर्वाचनमा चुनाव चिन्ह मादलमा उमेद्वारी दिएका थापाले रुपन्देही क्षेत्र नं. ५ का विभिन्न गाउं टोलमा घरदैलो गर्दै चुनावी प्रचारलाई तीव्रता दिएका हुन् ।
देश र जनताको निःस्वार्थ सेवा गर्न र समाजवादी प्रचार अभियानलाई अझ सशक्त बनाउन, खेलकुद मार्फत युवाहरुलाई देश र जनताप्रति उत्तरदायी बनाउदै देश विकासको साझेदार बनाउनमा उत्प्रेरित गर्न यस पटकको चुनावमा नेपाल मजदुर किसान पार्टीको चुनाव चिन्ह मादलमा भोट दिन आग्रह गर्दै उमेद्वार थापाले गैडहवाका विश्वरिया, गुलहरिया, सूर्यपुरा बजार, मैनिया बजार क्षेत्र, महेन्द्रनगर, शितलडाँडा र कञ्चनको हात्ती बजार क्षेत्रमा पुगेर मतदातासंग मत मागेका छन् ।

पार्टीको घोषणा पत्रसहित घरदैलोमा पुग्नेक्रममा आफ्ना मतदाताले उठाएका जिज्ञासाबारे प्रष्ट पार्दै उम्ेदवार थापाले चुनावको समयमा सबै उमेद्वारहरुले दिएका घोषणा पत्रहरुको अध्ययन गरि के सही के गलत हो भन्नेबारे छुट्टाएर आफुलाई राम्रो लागेको पार्टी र उमेद्वारलाई भोट दिएमा चुनाव पछि आफुले पछुताउनु नपर्ने सल्लाह दिएका थिए।
उम्मेदवार थापाले आफु र आफुलाई उमेद्वार बनाएको पार्टी नेपाल मजदुर किसान पार्टीलाई भोट दिनु भन्दा पहिला पार्टीको घोषणा पत्रको अध्ययन गर्न मतदातालाई आग्रह गरेका छन् । पार्टीको घोषणा पत्र राम्रो र विश्वास लागे मात्र मादल चिन्हमा मतदान गर्न मतदातालाई आग्रह गर्दै उनले हतारमा नबुझीकन मतदान नर्गन मतदालाई आग्रह गर्दै घर दैलो अभियानमा हिडेका छन् ।
बिकासमा समान अवसरको बन्दोवस्त गर्न, योग्यता अनुसार काम, काम अनुसार ज्यालाको बन्दोबस्त गर्न, शिक्षा निःशुल्क र अनिवार्य र स्वास्थ्य सेवा निःशुल्क गर्न, स्वदेशमै रासायनिक मल कारखाना स्थापना गर्न र देशका भ्रष्टचारीहरुलाई आजिवन कारावास तथा मृत्युदण्डको सजाय दिने बन्दोबस्त गर्न नेपाल मजदुर किसान पार्टीको चुनाव चिन्ह मादलमा मतदान गर्नु पर्ने आग्रह गर्दै घरदैलो प्रचार अभियानको क्रममा मतदाताहरुलाई कसैको करकाप, नाता, स्तमित्र र छिमेकी हेरेर भन्दा पनि राम्रो र इमान्दार पार्टी र उमेद्वारलाई आफ्नो अमुल्य मत दिनु पर्ने थापाको भनाइ छ ।
पार्टीको घोषणा पत्र अनुसार मतदातावीच सरकार स्थिरताको नाममा सिद्धान्तहिन निर्वाचन मोर्चा र सत्ता गठवन्धन गर्ने पुराना वा नयाँ पार्टीहरूका नाम र नेता फरक भएपनि देश र जनताकाबिरुद्ध नीति नियम र ऐन बनाउने तिनीहरुको कुर्सीको खेल अन्त्य गर्न, नेपाली जनतालाई कूल २८ खर्व रुपैयाभन्दा बढी ऋण बोकाउने र १५ खर्व रुपैया भन्दा बढी वार्षिक व्यापार घाटामा पु¥याउने शासक दललाई मतबाट बन्चित गर्नुपर्ने उम्मेदवार थापाले बताएका छन् ।
चुनावी प्रचार अभियानको क्रममा उम्मेदवार थापाले कञ्चनको पिपरीचापा, बगही, मसिना गाउँमा समेत घरदैलो गरी पार्टीको घोषणा पत्र सहित मतदाताहरु बिच पुगिसकेका छन। नेपाल मजदुर किसान पार्टीले रुपन्देहीको ५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको छ ।























