वीरगञ्ज अशान्त, अनिश्चितकालिन कफ्र्यु


बुटवल, फागुन ११ गते । चुनावको मिती नजिकिदै गर्दा पर्साको वीरगञ्ज अशान्त बनेको छ । वीरगञ्ज महानगरपालिका वडा नं. ११ श्रीपुर–मुर्ली चोकक्षेत्रमा युवाहरूको दुई समूहबीच विवाद हुँदा आइतबार रातिदेखि सो क्षेत्र तनावग्रस्त बनेको हो ।

सामान्य विषयबाट सुरु भएको विवादले उग्र रूप लिएपछि दुवै पक्षबिच झडप र ढुङ्गा हानाहान भएपछि स्थानीय प्रशासनले आइतबार बिहानैदेखि महानगरभित्र कफ्र्यु आदेश जारी गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सामान्य गाडी पार्किङको विषयलाई लिएर युवाबिच विवाद भएको र त्यसले केही बेर तनावपूर्ण अवस्था सिर्जना गरेको थियो ।
स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले बिहान ९ः४५ बजेदेखि अर्को आदेश जारी नहुँदासम्मका लागि कफ्र्यु लागु गरेको सूचना जारी गरेको छ । जिप्रका पर्साले स्थानीय प्रशासन ऐन,–२०२८ को दफा ६ (क) बमोजिम वीरगञ्ज महानगरपालिकाको तोकिएको चार किल्ला क्षेत्रभित्र कफ्र्यु आदेश लागू गरिएको जनाएको छ ।

प्रशासनका अनुसार कफ्र्यु क्षेत्रको सीमा पूर्वतर्फ बाइपास रोड, पश्चिमतर्फ सिर्सिया नदी, उत्तरतर्फ गण्डक चौक र दक्षिणतर्फ शङ्कराचार्य गेटसम्म निर्धारण गरिएको छ ।
प्रशासनले कफ्र्यु अवधिभर कुनै पनि प्रकारका भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, धर्ना वा घेराउजस्ता गतिविधिमा पूर्ण प्रतिबन्ध लगाएको छ । सवारीसाधन सञ्चालनसमेत निषेध गरिएको छ भने अत्यावश्यक सेवाबाहेक अन्य सबै गतिविधि बन्द रहने जनाइएको छ ।
घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट ठुलो सङ्ख्यामा नेपाल प्रहरी तथा अन्य सुरक्षाकर्मी र नेपाली सेना परिचालन गरिएको थियो । सुरक्षाकर्मी घटनास्थलमा पुगेपछि अवस्था नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 
स्थानीयका अनुसार झडपका क्रममा केही युवाहरू सामान्य घाइते भएका छन् । सम्भावित अप्रिय घटना हुन नदिन प्रहरी टोलीले निरन्तर निगरानी गर्नुको साथै घटनामा संलग्न व्यक्तिको पहिचान गरी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएने बताइएको छ ।
सामाजिक सद्भाव बिगार्न खोजेको आरोपमा एक जना पक्राउ परेको बताइृएको छ ।























