अध्यक्ष ओली पक्राउ विरोधमा सडकमा उत्रिँदै एमाले


काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमाले प्रदर्शनमा उत्रिने भएको छ । सचिव महेश बस्नेतका अनुसार एमालेले अध्यक्ष ओलीको पक्राउको विरोधमा प्रदर्शन गर्न लागिएको छ ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रदर्शनमा सहभागी हुन आह्वान गरेका छन् । प्रतिशोधको राजनीतिबाट देशलाई जोगाउन र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न, एमालेको तर्फबाट आजदेखि सुरु हुने प्रदर्शनमा सहभागी बनौं, बस्नेतले लेखेका छन्, कार्यक्रमबारे विस्तृत जानकारी केही समयमा दिइनेछ ।
जेनजी आन्दोलनमा दमन गरेको भन्दै पूर्वप्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले आज बिहान पक्राउ गरेको छ । पक्राउ गरिएको घटनाले देशमा द्वन्द्व बढ्ने अवस्था सिर्जना गरेको बस्नेतको भनाइ छ । यस्ता गतिविधिले राजनीतिक प्रतिशोध र पूर्वाग्रहको झल्को दिन्छ, सचिव बस्नेतले लेखेका छन् ।

बस्नेतले जेनजी आन्दोलनका क्रममा निरीह देखिएको नेपाल प्रहरीप्रति पनि टिप्पणी गरेका छन् । सरकारी सम्पदा र सम्पत्ति जोगाउन नसक्ने, आफ्नै चौकी सुरक्षित राख्न नसक्ने प्रहरीहरु आज लोकतन्त्र प्राप्तिका लागि लडेका नेताहरुलाई गिरफ्तार गर्न हजारौं संख्यामा खटिएको देख्दा दुस्ख लागेको छ, उनले सञ्जालमा लेखेका छन् ।























