कांग्रेसले ओली–लेखक पक्राउबारे समीक्षा गर्ने


काठमाडौं । नेपाली कांग्रेसले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउबारे समीक्षा गर्ने भएको छ । नवनिर्वाचित सांसदहरुका लागि आयोजना गर्न लागेको ‘संसदीय सचेतना’ कार्यक्रममा ओली र लेखक पक्राउबारे समीक्षा गर्ने भएको हो ।

जेनजी आन्दोलनमा दोषी रहेको आरोपमा सरकारले ओली र लेखकलाई पक्राउ गरेकोबारे प्रारम्भिक धारणासमेत सार्वजनिक नगरेको कांग्रेसले ‘संसदीय सचेतना’ कार्यक्रममा समीक्षा गर्ने एक पदाधिकारीले जानकारी दिए । आज पार्टी कार्यालयमा ‘संसदीय सचेतना’ कार्यक्रम छ । त्यहाँ हामीहरूको भेट हुन्छ,’ उनले भने, ‘समग्र स्थितिको समीक्षा गरेर धारणा सार्वजनिक गर्छौं ।
कांग्रेसले पार्टीका तर्फबाट संसदीय अभ्यास, प्रक्रिया एवम् प्राथमिकता तथा पार्टीको प्रतिज्ञापत्रबारे बुझाउन नवनिर्वाचित सांसदहरूका लागि शनिबार बिहान ११ बजेबाट ‘संसदीय सचेतना’ कार्यक्रम सुरु गर्दैछ ।

कांग्रेसका नेताहरुले ओली–लेखकको पक्राउबारे प्रतिक्रया दिन मानेका छैनन् । स्रोतका अनुसार घटनाको बुझाइबारे कांग्रेसमा मतभिन्नता छ । त्यसलाई एकरुपता दिन उनीहरूले प्रतिक्रिया दिन नमानेका स्रोतको भनाइ छ । नवगठित सरकारले गौरीबहादुर कार्की संयोजकत्वको जाँचबुझ आयोगले गरेको सिफारिसका आधारमा ओली र लेखकलाई शनिबार बिहानै पक्राउ गरेको छ ।
तर, कांग्रेसले उक्त प्रतिवेदनलाई प्रथमदृष्टिमा अपूरो र अधुरो भनेको छ । प्रतिवेदन अध्ययनका लागि कांग्रेसले कानुनका बेत्ता, शासन सत्तामा अनुभव भएका व्यक्ति र जेनजी आन्दोलनमा सहभागी भएका युवा अभियन्ता तथा विज्ञहरु सम्मिलित समिति बनाउने भएको छ ।
बिहीबार सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले उक्त समितिले कार्की आयोगसँगै राष्ट्रिय मानवअधिकार आयोगले सरकारलाई बुझाएको प्रतिवेदनहरु गहनतापूर्वक अध्ययन गरेपछि पार्टीले दृष्टिकोण बनाउने बताएका थिए ।























