इनिशा हत्या प्रकरणः आरोपीलाई बाल सुधार गृह पठाउन अदालतको आदेश

काठमाडौँ । इनिशा विकको हत्या आरोपमा पक्राउ परेका चार जना किशोरहरुलाई पुर्पक्षका लागि थुनामा पठाउन सुर्खेत जिल्ला अदालतले आदेश दिएको छ। सुर्खेत जिल्ला अदालतको बाल इजलासका न्यायाधीश दीपक ढकालको इजलासले मंगलबार थुनछेक बहसपछि आरोपी चारै जनालाई अनुसन्धानका लागि बाल सुधार गृह पठाउन आदेश दिएको हो।

अदालतका सूचना अधिकारी उज्ज्वल रावलका अनुसार, घटनाको गम्भीरता र प्राप्त प्रारम्भिक प्रमाणका आधारमा मुद्दाको किनारा नलागुन्जेल उनीहरुलाई थुनामै राख्न आदेश दिइएको हो। सरकारी वकिलको कार्यालयले अभियुक्तहरुविरुद्ध जबरजस्ती करणी र कर्तव्य ज्यान मुद्दामा अभियोग दर्ता गरेको थियो। जसमा १० देखि १२ वर्षसम्म कैद, ५ लाख रुपैयाँ जरिवाना र कर्तव्य ज्यान अन्तर्गत आजीवन कारावासको माग दाबी गरिएको छ।

इनिशा प्रकरणलाई लिएर सुर्खेतमा तनावपूर्ण स्थिति सिर्जना भएको छ। एकातर्फ इनिशाका आफन्त र अधिकारकर्मीहरुले ुसामूहिक बलात्कारपछि हत्या गरिएको दाबी गर्दै २५ दिनदेखि न्यायका लागि धर्ना दिइरहेका छन्। अर्कातर्फ पक्राउ परेका किशोरका आफन्तहरुले निर्दोषलाई फसाउन खोजिएको भन्दै वीरेन्द्रनगरमा प्रदर्शन र सरकारी वकिल कार्यालय अगाडि नाराबाजी गरेका छन्।

आरोपी पक्षका आफन्तहरुको तर्क छ कि प्रहरीको अनुसन्धान प्रतिवेदनमा सामूहिक बलात्कारको तथ्य नभेटिए पनि सरकारी वकिलले हचुवाका भरमा अभियोग दर्ता गरेको छ। उनीहरुले एक जनाको गल्तीमा अन्य साथीहरुलाई फसाउन खोजिएको आरोप लगाएका छन्।

गत फागुन २३ गते मृत्यु भएकी उषा बाल वाटिका विद्यालयकी छात्रा इनिशा विकको शव अझै कर्णाली प्रादेशिक अस्पतालको शव गृहमा छ। पोस्टमार्टम रिपोर्टप्रति असन्तुष्टि जनाउँदै परिवारले पुनः निष्पक्ष अनुसन्धान र दोषीलाई कडा कारबाहीको सुनिश्चितता नभएसम्म शव बुझ्न अस्वीकार गर्दै आएका छन्। यो घटनाले सुर्खेतमा सुरक्षा र न्यायको विषयलाई लिएर नागरिक दबाब र बहस थप तीव्र बनाएको छ।