आज बस्दै सर्वदलीय बैठक


काठमाडौँ । सङ्घीय संसद् सचिवालयले आगामी चैत १९ गतेदेखि सुरु हुने संसद् अधिवेशनको आवश्यक तयारीका लागि आज सर्वदलीय बैठक आह्वान गरेको छ। संसद् सचिवालयमा दिउँसो १ बजे बस्ने गरी बोलाइएको यस बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने सबै ६ वटा राजनीतिक दलहरूलाई आमन्त्रण गरिएको छ। सरकारको सिफारिसमा राष्ट्रपतिबाट सङ्घीय संसद्को अधिवेशन आह्वान भएपछि बैठकको औपचारिक मिति तय गरिएको हो।

भोलि बिहीबार अर्थात् चैत १९ गते दिउँसो २ बजे प्रतिनिधिसभाको पहिलो बैठक बस्ने कार्यसूची रहेको छ। सोही ऐतिहासिक बैठकको सञ्चालन प्रक्रिया, कार्यसूची र अन्य प्राविधिक व्यवस्थापनका विषयमा सहमति जुटाउन दलहरुबीच छलफल हुन लागेको हो। विशेषगरी पहिलो बैठकमा दलका नेताहरुले गर्ने सम्बोधन र संसद् सञ्चालनको नियमावलीका विषयमा आजको बैठकले खाका तयार पार्ने छ।
नयाँ सभामुख र उपसभामुखको चयन नहुँदासम्म संसद्को अध्यक्षता ज्येष्ठ सदस्यले गर्ने संवैधानिक व्यवस्था रहेको छ। सोही अनुसार प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले संसद्को कार्यभार सम्हालिरहेका छन्। उनले नै यही चैत १२ गते प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ खुवाएका थिए। आजको सर्वदलीय बैठकले संसद्को पहिलो बैठकलाई मर्यादित र व्यवस्थित बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने सचिवालयले जनाएको छ।
























