यातायात व्यवसायी समितिको अध्यक्षमा पंकजको उम्मेदवारी


बुटवल, चैत १८ गते । बुटवलका युवा व्यवसायी तथा सामाजिक अभियान्ता पंकज राईले पश्चिमाञ्चल यातायात व्यवसायी समितिको अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

यही चैत २० र २१ गते हुने समितिको २५ औ वार्षिक साधारण सभा तथा १४ अधिबेशनवाट नयां नेतृत्व चयन हुंदै छ । उक्त अधिवेशनबाट आउने नयां कार्यसमितिको अध्यक्ष पदमा राईले उम्मेदवारी घोषणा गरेका हुन् । पश्चिमाञ्चल यातायात व्यवसायी समितिको पूर्वसचिव राईले बुधबार बुटवलमा पत्रकार सम्मेलन गरी व्यवसायीक हकहितका लागि अध्यक्ष पदमा उम्मेदवारी दिन लागेको बताएका छन् ।
अध्यक्षका उम्मेदवार राईले विभिन्न १४ बुंदे प्रतिवद्धता पत्र पत्रकार सम्मेलनमा सार्वजनिक गर्दै अध्यक्षका उम्मेदवार राईले भने – म विजयी भएमा समितिमा रहेका व्यवसायी, स्वरोजगार र मजदुरवीच समन्वय गरेर काम गर्ने छु ।

सम्बन्धीत पक्षबीच एकताको भावना बिकास गर्ने, सडक दूर्घटनाको व्यवस्थापन मोवाईल एप प्रणाली बिकास गरी समाधान गर्ने र चालक तथा सहचालकको सामाजिक सुरक्षा सामाजिक सुरक्षा कोषमा आबद्धता, बीमा तालिम र स्वास्थ्य परीक्षणको व्यवस्था सुनिश्चित गर्ने उनले प्रतिवद्दता जनाएका छन् ।
अध्यक्षका उम्मेदवार राईले चालकको स्वास्थ्य र बीमा व्यवस्था नियमित, स्वास्थ्य परिक्षण तथा दूर्घटना बीमा संचालन गर्ने, व्यवसायी र कर्मचारीबीच सम्मान जनक सम्बन्ध, आपसी विश्वास , सम्मान र सहकार्यमा आधारित सम्बन्ध विकास गर्ने र काठमाडौमा पार्किङ तथा चोरी नियन्त्रणलाई प्रभावकारी सुरक्षा प्रणाली सुद्धिढ गर्ने रहेका छन ।
उनले भारती नम्बरका सवारीलाई नेपालमा रहन पाउने ७२ घण्टेलाई घटाई २४ घण्टामा सिमित गर्न पहल गर्ने, रोड परमिट प्रक्रियालाई सरलिकृत गदै एक वर्षमा एक पटकमात्र गर्ने व्यवस्था लागु गराउने, टोल फ्रि हेल्पलाईको माध्यमवाट आपतकालिन अवस्थामा सेवा प्रदान गर्ने , सुरक्षित सवारी साधन संचालनका लागि समयसमयमा चालक सहचालकलाई तालिम प्रदान, पान र भ्याट प्रयोगमा सहजिकरण गर्ने, सामाजिक सुरक्षा कोषको सहज संचालनका लागि हेल्प डेक्स स्थापन गरेर सदस्यता विस्तार कार्यक्रमलाई प्रभावकारी बनाउने बताए ।
२ हजार ट्रक र १ हजार ३ सय व्यवसायी भएका पश्चिमाञ्चल यातायात व्यवसायी समितिमा चुनावी सरगर्मी बढेको छ ।























