फोहोर व्यवस्थापनका लागि जग्गाको खोजीमा जुटे स्थानीय


श्यामलाल पोखरेल
बुटवल, चैत २६ गते । फोहोरको उचित ब्यवस्थापन नहुंदा देशभर समस्या जटिल बन्दै गएको छ । फोहोरबाट मोहोर फलाउन सकिने भनेपनि फोहोरको दीर्घकालिन व्यवस्थापन हुन नसक्दा मानव बस्तीहरु दुषित बन्दै गएका छन् ।

फोहोरको उचित ब्यवस्थापन हुन नसक्दा बुटवल प्रदुषणबाट मुक्त हुन सकेको छैन । स्थानीय सरकारले फोहोर ब्यवस्थापनका लागि पहल गरेपनि जग्गाको अभावले समस्या उस्तै छ ।
फोहोरका कारण प्रदुषण फैलिन थालेपछि बुटवल उपमहानगरपालिकामा वडा तहबाटै दीर्घकालिन समाधानका लागि पहल थालिएको छ ।
बुटवलको तिनाउ पश्चिमका वडाहरुले ल्याण्डफिल साइट निर्माणका लागि उपयुक्त जग्गा खोज्न स्थानीयले छलफल अभियान चलाउन थालेका छन् ।
तिनाउ पश्चिमको फोहोर तिनाउ पश्चिमकै वडामा ब्यबस्थापन गर्ने लक्ष्यका साथ स्थानीय नागरिक छलफलमा जुटेका हुन् ।
बुटवल उपमहानगरपालिका वडा नम्बर ७ र ८ ले शिवनगर सामुदायिक वन क्षेत्रमा फोहोर प्रशोधनसहितको व्यवस्थापन केन्द्र स्थापना गरी सञ्चालन गरिएको छ ।

वडाबाट जम्मा हुने फोहोर भने तिनाउ नदीको किनार मजुवामा फालिँदै आएको छ। उक्त ठाउंमा प्रदुषण फैलिएको भन्दै स्थानीयले बिरोध गर्दै फोहोर फाल्न नदिएपछि समस्या उत्पन्न भएको थियो । जम्मा भएको फोहोर ब्यवस्थापन हुन नसेपछि मानव बस्तीहरुमा प्रदुषण फैलिन थालेपछि उपमहानगरपालिका र स्थानीयबीच छलफलपछि सहमति भएपनि दीर्घकालिन समाधान भने हुन सकेको छैन ।
स्थानीयले फोहोर ब्यवस्थापनका लागि उचित जग्गा खोज ीगर्न स्थानीय सरकारलाई बारम्बार दवाव दिंदै आएका छन् ।
फोहोरले समस्या पारेपछि वडा नम्बर १२ र १३ ले आफ्नै क्षेत्रमा फोहोर व्यवस्थापन गर्ने उद्देश्यसहित डम्पिङ साइट बनाउनका लागि स्थानीय जग्गाको खोजीमा जुटेका छन् ।
जताततै मानव बस्ती भएकाले उचित स्थान भेटाउन नसकिएको स्थानीय कृष्ण जीसीले बताए । खोला र बन क्षेत्रसंगै बस्ती भएकाले पनि फोहोर ब्यवस्थापन गर्ने जग्गाको लागि जग्गाको अभाव देखिएको उनले बताए ।
साविक सेमलार गाविस अन्तर्गतका वडा १४, १५ र १६ र वडा नम्बर १२ तामनगरस्थित कोरियन टेक्निकल इन्स्टिच्युटको उत्तरतर्फ रहेको चारपाला सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा प्रारम्भिक अध्ययन सुरु गरिएपनि कुनै टुंगो नलागेको स्थानीय तथा पत्रकार हरिष ढकालले बताए ।
ढवाहस्थित मिलनपार्कको उत्तरतर्फको वन क्षेत्रको जग्गा उपयुक्त मानिएपनि ठाउं निर्धारण गर्न सकिएको छैन, जसका कारण बुटवलमा फोहोर ब्यवस्थापनको विषय जटिल बनेको स्थानीय बताउ छन् ।
वडा नम्बर १२ का अध्यक्ष डिल्लीप्रसाद शर्मा आचार्यले तिनाउ पश्चिममा फोहोर व्यवस्थापन गर्ने स्पष्ट रणनीतिसहित काम अघि बढेको दावी गर्दै उनले भने जग्गाको खोजी लगभग टुंगोमा पुगेको छ, अब स्थानीय तहमा सहमति जुटाएर प्रक्रिया अगाडि बढ्छ ।
चारपाला वनक्षेत्रको राजपुरदेखि उत्तरतर्फको क्षेत्रमा प्रारम्भिक रूपमा डम्पिङ साइट बनाउन छलफल भइरहेको छ। दीर्घकालीन रूपमा सो क्षेत्रलाई ल्याण्डफिल साइट र अत्याधुनिक फोहोर व्यवस्थापन केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।
बुटवल उपमहानगरका अनुसार बुटवलमा दैनिक करिब ५० टन फोहोर उत्पादन हुने गर्दछ । तर उचित ब्यवस्थापन नहुंदा तिनाउ नदी किनारमा वर्षौदेखि फोहोर थुपार्ने गरिंदा बजार क्षेत्रमा प्रदुषण फैलिने गरेको छ ।
चारपाला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जगत पौडेलका अनुसार वडा नम्बर १२ र १३ का जनप्रतिनिधि, राजनीतिक तथा सामाजिक अगुवाबीच पटक–पटक औपचारिक र अनौपचारिक छलफल भएपनि ठाउंको छनोट हुन सकेको छैन । ठाउंको अन्योल हुंदा फोहोर ब्यवस्थापनका लागि समस्या जटिल बन्दे गएको छ ।
फोहोरका कारण दुर्गन्ध फैलिंदा मानव स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने र विभिन्न रोगहरु फैलिनुका साथै कृषि उत्पादनमा असर पर्ने वातावरणको क्षेत्रमा काम गर्ने विज्ञहरुले बताएका छन् ।























