अदालतको आदेशलाई चुनौतीः बुटवलमा अपाङ्ग महासंघको निर्वाचन प्रक्रिया अगाडि, महासंघभित्रै तीव्र असन्तुष्टि


बुटवल । अदालती विवाद र कानुनी उल्झनकाबीच राष्ट्रिय अपाङ्ग महासंघ नेपालले बुटवलमा आफ्नो निर्वाचन प्रक्रिया अगाडि बढाएको छ । महासंघको केन्द्रीय नेतृत्व चयनका लागि भइरहेको यो प्रक्रियामा गम्भीर विवाद उत्पन्न भएको छ ।

महासंघभित्रको एउटा समूहले उच्च अदालत पाटनमा दायर गरेको रिट विचाराधीन अवस्थामा रहेकाले निर्वाचन गर्नु कानुनविपरीत हुने बताइए पनि, आयोजक समूहले भने निर्धारित कार्यक्रम अगाडि बढाएको हो । यसअघि नै महासंघमा आर्थिक अपारदर्शिता र समावेशी चरित्र नभएको भन्दै महासंघभित्रै तीव्र असन्तुष्टि चुलिएको थियो ।
कतिपय सदस्यहरुले अदालतको मानहानी हुने गरी र महासंघको विधान विपरित प्रक्रिया अगाडि बढाइएको आरोप लगाएका छन् । बुटवलमा भइरहेको यो निर्वाचनले महासंघलाई थप विभाजनको दिशामा धकेल्न सक्ने चिन्ता अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका लागि काम गर्ने अभियन्ताहरुले बताएका छन् ।

अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा हतारहतार निर्वाचन गराउनु कानुनी शासनको उपहास हो, महासंघका एक पूर्व केन्द्रीय सदस्यले भने । अपाङ्गता भएका व्यक्तिहरुको सर्वोच्च संस्थाको रुपमा रहेको महासंघभित्रै लोकतान्त्रिक मूल्यमान्यता र न्यायिक आदेशलाई बेवास्ता गरिएको घटनालाई कतिपयले ‘शक्ति प्रयोग’ को संज्ञा दिएका छन् । निर्वाचनको अन्तिम नतिजा र त्यसको वैधतामाथि नै प्रश्नचिन्ह खडा भएको छ ।























