सरकारले गलत निर्णय गरेको भन्दै विद्यार्थी संगठन आन्दोलित


बुटवल, चैत २७ गते । विद्यार्थी युनियन खारेज गर्ने सरकारको घोषणाविरुद्ध विभिन्न विद्यार्थी संगठनहरूले संयुक्त आन्दोलनको घोषणा गरेका छन् । शुक्रबार सडकबाट नै पत्रकार सम्मेलन गरी संयुक्त विद्यार्थी संगठनले चैत २७ गते आजैबाट आन्दोलनको घोषणा गरेका हुन् ।

सरकारको सय बुँदे सूचीमा विद्यार्थी संगठन खारेज गर्ने घोषणा गरेपछि विद्यार्थीहरू आन्दोलित बनेका हुन् । विद्यार्थी संगठटनहरूले घोषणा गरेअनुसार चैत २७ गते पत्रकार सम्मेलन, चैत २९ गते नागरिक अगुवासँग अन्तरक्रिया गर्ने र चैत ३० गतेदेखि २०८३ साल वैशाख ४ गतेसम्म ७७ जिल्लाका कलेजहरूमा स्ववियु एकाइ तथा जिल्लाहरूको आयोजनामा छलफल तथा अन्तरक्रिया गर्ने कार्यक्रम तय गरिएको अखिल छैठौंका अध्यक्ष शुवास जीसीले जानकारी गराए ।
वैशाख ५ गते पूर्व विद्यार्थी नेता तथा सांसदहरूसँग अन्तरक्रिया, वैशाख ७ गतेदेखि ९ गतेसम्म प्रचारप्रसार (कलेजमा ब्यानर राख्ने, पर्चा बाँड्ने, विभिन्न प्रतियोगिता वक्तृत्वकला, वादविवाद, गीत, गजल, दोहोरी, पप ब्याटल, नृत्य, सडक नाटक, फ्ल्यास मोब आयोजना गर्ने, भित्ते चित्रहरू प्रदर्शन गर्ने) र प्रत्येक कलेजमा हस्ताक्षर संकलन गर्ने विद्यार्थीहरूद्वारा घोषणा गरिएको कार्यक्रममा उल्लेख छ ।

वैशाख ११ गते हरेक विश्वविद्यालयको उपकुलपतिलाई ज्ञापन पत्र दिने र वैशाख १२ गते प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र दिने, वैशाख १५ गते काठमाडौँ उपत्यकामा बालुवाटारसहित देशभर कापी–कलमसहित प्रदर्शन गरिने विद्यार्थी नेताहरुले बताएका छन् ।























