सरकार विधि मिच्दै संसद् छल्दै अघि बढेको प्रचण्डको आरोप


काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारमाथि विधि, लोकतान्त्रिक मूल्य र संसदीय प्रक्रियाको उल्लङ्घन गरेको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको मङ्गलबारको बैठकलाई सम्बोधन गर्दै उनले संख्याको दम्भमा विधि मिच्ने काम भइरहेको भन्दै जनताको विश्वासलाई विधि सुदृढीकरणतर्फ प्रयोग गर्न सरकारलाई आग्रह गरे । दाहालले सरकार संसद् स्थगित गरेर जनप्रतिनिधिलाई छल्दै अध्यादेशमार्फत शासन चलाउने प्रयासमा लागेको भन्दै यस्तो अभ्यास स्वीकार्य नहुने बताए।
उनले सरकारमाथि आलोचना गर्नेहरुमाथि धरपकड र गिरफ्तारी गर्दै प्रतिशोध साँध्ने काम भइरहेको भन्दै आपत्ति जनाए। उनले भने, संख्याको दम्भमा विधि मिच्ने काम नहोस् । तपाईंहरुलाई जनताले विश्वास गरेका छन्, त्यो विश्वास विधि बलियो बनाउनेतर्फ लगाउनुस् । आँफैले बोलाएको संसद् स्थगित गरेर जनप्रतिनिधिलाई छलेर, एकपछि अर्को अध्यादेशमार्फत शासन चलाउने प्रयास भयो । प्रतिशोधको गन्ध आउने गरी धरपकड शुरु गरियो, सरकारको आलोचना गर्नेहरुलाई थुन्ने काम गरियो, यो लोकतान्त्रिक पद्धति र प्रणालीका लागि कसरी स्वीकार्य हुन सक्छ ?

प्रचण्डले सम्पत्ति विवरणबारे जनस्तरबाट प्रश्न उठेपछि पारदर्शी जवाफ दिनुपर्ने अपेक्षा हुँदाहुँदै सरकार त्यसलाई ढाकछोपतर्फ लागेको आरोप लगाए। साथै पत्रकार र युट्युबरहरुलाई आलोचना गरेकै आधारमा पक्राउ गरिएको भन्दै त्यसप्रति पनि आपत्ति जनाए । उनले पुराना दल सबै गलत भन्ने भाष्य निर्माण गरिएको उल्लेख गर्दै अहिले सरकार स्वयं स्वेच्छाचारिता, प्रतिशोध र संसद् छल्ने अभ्यासमा लागेको दाबी गरे ।























