तीन वायु प्रणालीको प्रभाव, मेघगर्जनसहित भारी वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय रेखाको समेत आंशिक प्रभाव रहेको छ। यी मौसमी प्रणालीका कारण देशका विभिन्न भागमा बदली र वर्षाको क्रम जारी छ।

अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा साधारणतया बदली रहेको छ भने बाँकी भू-भागमा आंशिक बदली छ। कोशी र बागमतीका पहाडी क्षेत्र तथा लुम्बिनी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बदली रहनेछ भने तराईका भू-भागमा आंशिक बदली रहने सम्भावना छ। हिमाली र पहाडी क्षेत्रका थोरै स्थानहरूमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने देखिएको छ।

आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित वर्षा र उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ। वर्षा र चट्याङको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ।