नेपाल स्कटल्याण्डसँग दुई रनले पराजित

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल, अमेरिका र स्कटल्याण्ड सम्मिलित त्रिकोणात्मक एक दिवसीय शृङ्खलाको पहिलो खेलमा नेपाल पराजित भएको छ । नेपाल स्कटल्याण्डसँग मात्र दुई रनले पराजित भएको हो ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा स्कटल्याण्डले टस जितेर पहिले ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा २४३ रन बनायो । जर्ज मुन्सीले ७५ तथा फिन्ले म्याग्रेथले ३५ रन जोडे । नेपालका लागि सन्दीप लामिछानेले ४ तथा करण केसी र नन्दन यादवले समान २ विकेट लिए ।

जवाफमा वर्षाले प्रभावित खेलमा ३९ ओभरमा २२१ रनको चुनौती पछ्याएको नेपालले ७ विकेटको क्षतिमा ११८ रनमात्र बनाउन सक्यो । नेपालका लागि गुल्सन झाले ३५ बलमा अविजित रहँदै ६१ तथा उपकप्तान दिपेन्द्र सिंह ऐरीले ५५ रन बनाए ।

यसअघि ओमान र यूएई सम्मिलित शृङ्खलामा चारमध्ये तीन खेल जितेर उत्कृष्ट लयमा देखिएको नेपालको मनोबल थप उच्च रहे पनि बलियो स्कटल्याण्डसँग झिनो हार बेहोरेको हो ।

नेपाली टोलीको नेतृत्व रोहित पौडेलले गरेका छन्। टोलीमा उपकप्तान दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, भीम शार्की, आशिफ शेख, ईशान पाण्डे, गुल्सन झा, सोमपाल कामी, सन्दीप लामिछाने, ललित राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमाल र करण केसी रहेका छन्। हाल नेपाल २५ खेलमा ८ जित र १५ हारका साथ १८ अङ्क जोडेर तालिकाको सातौँ स्थानमा छ। शीर्ष स्थानका अमेरिका र स्कटल्याण्डको समान ३६ अङ्क छ।

विगतका भिडन्तहरुमा स्कटल्याण्ड र अमेरिका नेपालका लागि चुनौतीपूर्ण रहँदै आएका छन् । सन् २०२४ मा क्यानाडा र अमेरिकामा नेपालले अपेक्षाकृत नतिजा निकाल्न नसके पनि सन् २०२५ मा स्कटल्याण्डमा भएको शृङ्खलामा चारमध्ये तीन खेल जितेको सुखद इतिहास नेपालसँग छ ।