चुनढुङ्गा उत्खनन् रोक्न खानी तथा भू–गर्भ विभागको निर्देशन

बुटवल, असार १० गते । चुनढुङ्गा उत्खनन् रोक्न अर्घाखांचीका जनताले बारम्बार आन्दोलन गरेपछि खानी तथा भू–गर्भ विभागले तत्कालका लागि उत्खनन् गर्नमा रोक लगाएकोछ ।

खानी तथा भू–गर्भ विभागले अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाभित्र सञ्चालन हुँदै आएको श्री भूगर्भ सिमेन्ट लिमिटेडको चुनढुङ्गा खानीको खनिज कार्य तत्कालका लागि स्थगन गर्न निर्देशन गरेको छ ।

विभागले २०८३ असार ८ गतेको विभागीय निर्णयपछि विज्ञप्ती जारी गरी खानी सञ्चालनसम्बन्धी निरन्तर गुनासो तथा उजुरी प्राप्त भएको उल्लेख गरेको छ । साथै जिल्ला प्रशासन कार्यालय अर्घाखाँची र जिल्ला समन्वय समितिबाट प्राप्त पत्र तथा विभिन्न बैठकका निर्णयहरूका आधारमा खानी सञ्चालनमा स्थानीय प्रशासन र समुदायसंग आवश्यक समन्वय तथा सहकार्य नभएको पाइएको उक्त विज्ञप्तीमा उल्लेख छ ।

लुम्बिनी प्रदेशको अर्घाखाँची जिल्लास्थित सन्धिखर्क नगरपालिकामा रहेको उक्त चुनढुङ्गा उत्खनन खानीका लागि २०५५ फागुन ३० गते उत्खनन अनुमतिपत्र नं. ३९÷०५५÷५६ जारी गरिएको थियो ।

विभागले स्थानीय प्रशासन, स्थानीय तह र सरोकारवालासँग आवश्यक समन्वय, सहकार्य गरेर मात्रै खानी सञ्चालन गर्न सकिने खानी तथा भू–गर्भ विभागले बताएको छ।

विभागका रिसर्च अफिसर बसन्त अधिकारीले जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, डिभिजन वन कार्यालय तथा सन्धिखर्क नगरपालिकालाई जानकारीका लागि पठाएका छन् ।