हामी फेरि उठ्छौँः शंकर पोखरेल


सुर्खेत । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमालेले इतिहासका विभिन्न कठिन परिस्थितिहरुको सामना गर्दै पुनः उठ्न सफल भएको उल्लेख गर्दै आगामी दिनमा पनि पार्टीलाई जनविश्वासको केन्द्रका रुपमा स्थापित गरिने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) कर्णाली प्रदेश कमिटीले मंगलबार सुर्खेतमा आयोजना गरेको एकदिने अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले पार्टीमा संकट पर्दा जनताले नै संरक्षण गर्ने भएकाले जनताका भावना, आवश्यकता र अपेक्षालाई बुझ्नुपर्नेमा जोड दिए।
उनले पार्टीले निर्माण गरेका नीति तथा कार्यक्रम जनतासम्म प्रभावकारी रुपमा पु¥याउन नसक्दा कतिपय अवस्थामा गलत बुझाइ उत्पन्न भएको बताए । निराशालाई आशामा बदल्नु आजको आवश्यकता हो, उनले भने, जनताको विश्वास जित्न पार्टीले आफ्ना विचार, नीति र कार्यक्रमलाई थप प्रभावकारी रूपमा प्रस्तुत गर्नुपर्छ।

पोखरेलले युवाहरुलाई पार्टीसँग जोड्न नसक्नु एमाले कमजोर देखिनुको एउटा प्रमुख कारण भएको उल्लेख गरे । युवाको सहभागिता र नेतृत्व विकासलाई प्राथमिकतामा राखेर संगठनलाई पुनः सुदृढ बनाउनुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो।
‘हामी हरेक धक्काबाट उठेका छौँ, फेरि उठ्छौँ, उनले भने, कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ । पार्टीलाई जनताको विश्वासयोग्य शक्ति बनाउँदै अघि बढ्नुपर्ने बताए । कार्यक्रममा कर्णाली प्रदेशका नेता, कार्यकर्ता तथा पार्टीका विभिन्न तहका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा संगठन सुदृढीकरण, विचार अभिमुखीकरण तथा आगामी राजनीतिक कार्यदिशाका विषयमा छलफल गरिएको थियो ।























