मौलिकताको धरातलमा हामी कहिले उभिने ?

विसं. २०३८ साल भदौ महिनातिरको कुरा हो । म त्यतिखेर कक्षा आठमा पढ्दथेँ । हरितालिका (तीज) नजिकिँदै थियो । त्यतिबेला हिजोआज जस्तो फेन्सी पसलमा गएर रेडिमेड कपडा अथवा तयारी कपडा किन्ने चलन थिएन । काँचो कपडा किनेर दर्जीकोमा सिलाएर लगाउने चलन थियो । तीजको दिन भएका कारणले घरमा सबै काम गरी एक भारी घाँस ल्याएपछि मैले तीजको दिन लगाउने कपडा लिन दौडेर दर्जी कहाँ गएँ ।

दर्जीको घर मेरो घरदेखि झण्डै एक किलोमिटरको दुरीमा थियो । म नयाँ लुगा सिलाउनलाई दर्जीको घरमा जानको लागि बुवाआमालाई जानकारी नगराएर गए । दर्जीले करिव एक घण्टा बसिसकेपछि कपडा तयार गरिदिए र म कपडा लिएर घर फर्किए । त्यतिखेर अन्य समयमा नयाँ कपडा किन्ने, लगाउने चलन थिएन । प्रायजसोः तीज वा दशैंको समयमा मात्रै नयाँ कपडा लगाउन पाइन्थ्यो । नयाँ कपडाको फरक बासना आउँथ्यो । तीजमा लगाउन सिलाएको कपडाको बासना आएर म ती कपडा सुँघ्दै घर आइपुगेँ । खाना खाने समय भएको थियो म पुग्दा । अभिभावकलाई नसोधेर मनोमानरिुपमा दर्जीको घरमा गएकाले बुवाले बेस्सरी गाली गर्नुभयो । सम्झना अझै ताजै छ ।

तर तीजको दिन नयाँ कपडा लाउन पाएकोमा बुवाको गालीलाई बेवास्ता गर्दै म फुरुङ्ग हुन्थ्य । नयाँ कपडा लगाएर तीजको नाच हेर्न डाँडामा जाँदाखेरि सबैले मलाई नै हेरेका छन् कि जस्तो अनुभूति हुन्थ्यो । साँच्चै बालापन सुखद, भयरहित, निश्चल र आनन्दित थियो, हुन्छ । जुन कुरा आज सम्झिँदा पनि सर्वप्रिय लाग्छ ।

त्यस्तै म केही समयअघि औषधि उपचारको लागि भारतको गोरखपुर गएको थिएँ । फर्किने क्रममा म नौतनवा आइसकेपछि केही सामानको आवश्यकता छ कि भनेर घरमा श्रीमतीलाई फोन गरे र सोधे । श्रीमतीले मिल्छ भने दुई चार किलो चिनी ल्याउनु होला भनेर माग गरिन्, मैले त्यसै अनुसार मागेको जति चिनी ल्याए । म सँग गएको एकजना साथीलाई घरायासी प्रयोगको लागि केही कपडा किन्नु थियो र हामी कपडा पसलतिर लाग्यौँ ।

त्यहाँ हामी जानुभन्दा अगाडि नै दुईजना नेपाली महिलाहरु तीजको लागि साडी किन्नको लागि किनमेलमा गएका रहेछन् । कुराको प्रसंग हो एकजनाको श्रीमान् दुबईमा र अर्को एक महिलाको श्रीमान् मलेसियामा वैदेशिक रोजगारीको सिलसिलामा गएका रहेछन् । उनीहरु एकआपसमा कुरा गर्दै थिए । तीजको समयमा दर्जनौं ठाउँमा दर खान जानु पर्दछ र दर खान जाँदाखेरी दैनिक उहीँ साडी लगाउनु हुँदैन ।

दैनिक फरक ठाउँमा फरक साडी लगाउनको लागि उनीहरुले १२ १२ वटा फरक फरक रङका साडीहरु किन्थे । हामी अचम्मित भयौँ । मैले पहिले पहिले वर्षभरिमा तीजको समयमा मात्र एउटा नयाँ गुन्यु र चोली पाउँदा खुसी हुने ती आमाहरुलाई सम्झिएँ । तीजको समयमा नयाँ कपडा लगाउँदा खुसी भएका आफ्ना विगतका दिनहरु सम्झिएँ । सम्झिएँ, जसले आफ्नो परिवारका सदस्यहरुलाई एकसरो नाना र एक छाक खानाको लागि अर्काको देशमा आफ्नो ज्यानलाई हत्केलामा राखेर वैदेशिक रोजगारमा जान लागेका दाजुभाइहरुलाई ।

हो कठै भन्ने जस्तै हाम्रो जस्वन । कस्तो विडम्बना । हामी कहाँ छौँ ? हामी के गर्दै छौँ ? हाम्रो संस्कार र संस्कृतिको धरातल के हो ? आज हाम्रा मौलिक संस्कार र संस्कृतिहरु हराउँदै गएका छन् । आफ्नो आर्थिक अवस्था भन्दा पनि देखासिकी बढिरहेको छ । आयातित कुराहरुमा हामी निर्भर छौँ । चाहे तीज गीतका सन्दर्भमा होस् या हामीले लगाउने कपडामा । के आत्मनिर्भरता र मौलिकताको जगमा हामी माथि उठ्न सक्दैनौँ ?

लेखक दीप बोर्डिङ्गका प्रधानाध्यापक टिकाराम न्यौपाने हुन् ।