गति लिने अपेक्षाः बुटवल बधशाला “ब्रेक” गर्न ठेकेदार सहकारीबिच सम्झौता

बुटवल । बुटवल बधशाला र लुम्बिनीका विभिन्न जिल्लाका दशवटा सहकारीबीच खसीबोका खरिदविक्रि गर्ने सम्झौता भएको छ । विहीबार बधशालामा आयोजित पत्रकार सम्मेलन गरी दुई पक्षबिच सहमतिमा हस्ताक्षर गरी सम्झौता गरिएको छ । केही महिना अगाडि सञ्चालनमा आएको बुटवलमा निर्माण गरिएको बधशालाबीच किसानले उत्पादन गरेका खसीबोका सहकारी मार्फत् खरिद गर्ने सम्बन्धमा बधशाला सञ्चालक ठेकेदार पक्ष मुक्तिनाथ लाइभस्टक बैंकसँग खरिद सुनिश्चिततामा सम्झौता गरिएको हो ।

अपुरो एवं विभेदकारी ऐन भएको गुनासो पोख्दै आएका मासु व्यवसायीहरु बधशाला सञ्चालनमा आउँदा पनि बध गर्न नजाँदा पूर्णरुपमा सञ्चालनमा आउन सकेको छैन् । बुटवल उप–महानगरपालिका वडा न–१० रामनगरमा २ विघा ३ कठ्ठा क्षेत्रफलमा २३ करोड लागतमा बनेको बधशालामा सार्वजनिक नीजि साझेदारीमा सञ्चालन गर्ने सम्झौता गरि फोर पी मोडेलमा चलाउने गरी गरिएको सम्झौता अनुसार टेण्डर नभएको भन्दै मासु व्यवसायी र उपमहानगरपालिकाबिच भएको विवादले दूरी लम्बिदै गएपछि करोडौं लगानीमा निर्माण भएको बधशाला सञ्चालनमा आएपनि कछुवा गतिमा चलेको बधशालालाई पूर्णरुपमा सञ्चालन गर्न दश वटा महिला सहकारीसँग खसीबोका खरिद गर्ने सम्झौताले अव बधशालाले गतिले लिने अपेक्षा लिइएको छ ।

वधशालावाट प्रशोधित मासुलाई स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी चिस्यान सहितको गाडी (चिलिङ् भ्यान) मार्फत् मासु व्यवसायीको पसलसम्म पुर्याईने मुक्तिनाथ लाईभस्टक बैंकका अध्यक्ष उमेशकुमार आचार्यले बताए । उनले भने, किसानले उत्पादन गरेको खसीबोका विक्रिको लागि बजारको सुनिश्चितता र बधशालाको लागि मासुको आपूर्ति व्यवस्थापनको लागि कृषि तथा बहुउद्देश्यीय सहकारी संस्थाबीच दुईपक्षीय समझदारी गरिएको स्पष्ट पारे ।

दैनिक १ हजार खसीबोका बध गर्ने क्षमता भएको यो बधशालामा हाल दैनिक २०÷२२ वटा खसीबोका मात्रै बध हुँदै आएको बताइएको छ । दैनिक २ सय ५० देखि ३ सयवटा खसीबोका बध गरी विक्रिवितरण गर्न सकिएमा वार्षिक करिव २ अर्व रुपैयाँ बराबरको किसानले कारोवार गर्न सक्ने र ग्रामिण अर्थतन्त्रलाई टेवा पुग्ने ठेक्का पाएको मुक्तिनाथ लाइभस्टक बैंकको दाबी थियो ।

सम्मेलनमा बुटवल उपमहानगरपालिकाकी सूचना अधिकारी तथा अनुगमन महाशाखा प्रमुख तुलसा अर्यालले २०७० सालदेखि निर्माणकार्य थालिएको बधशालाको ढिलैभएपनि निर्माण पूरा भएर अहिले सञ्चालनमा आएको बताउँदै नागरिकको स्वच्छ र उपभोगयुक्त मासु उपभोगको सुनिश्चितता प्रदान गर्नुपर्नेमा जोड दिईन् ।

त्यस्तै अर्घाखाँचीको सितगंगामा रहेको गंगाजल कृषि तथा महिला विकास सहकारी संस्थाकी व्यवस्थापक कृष्णा दर्लामीले बधशालासंग भएको सम्झौतासंगै किसानले उत्पादन गरेका खसीबोकाको मुल्य र बजारको ग्यारेण्टी हुनुपर्ने बताइन् । त्यसैगरी रुपन्देहीको लहर सामाजिक उद्यमी महिला सहकारीकी राधिका चौधरीले गाउँका किसानले बजार र मुल्य नपाएको अवस्थामा गरिएको सम्झौताले किसानलाई थप उत्साह थप्दै कृषितर्फ आकर्षित गर्न प्ररित गर्ने विश्वास व्यक्त गरिन् ।