रास्वपा लुम्बिनीको सभापतिमा रुपन्देहीका घिमिरे निर्वाचित

दाङ, जेठ ३१ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लुम्बिनी प्रदेशको सभापतिमा रुपन्देहीका शालिकराम घिमिरे निर्वाचित भएका छन् । घिमिरे यस अघि कोषाध्यक्ष थिए ।

दाङको घोराहीमा सम्पन्न भएको अधिवेशनबाट घिमिरे १९९ मत प्राप्त गरी सभापतिमा निर्वाचित भएको निर्वाचन अधिकृत गोकुल सापकोटाले बताएका छन् ।

सभापतिबाहेक समावेशी समूह र क्षेत्रगत सदस्यहरूको निर्वाचन परिणाम पनि सार्वजनिक भएको छ। समावेशी समूहअन्तर्गत थारू सदस्यमा २८३ मतका साथ गोविन्दबहादुर थारू र २७५ मतका साथ बिहारी चौधरी निर्वाचित भए । सो पदका अर्का प्रतिस्पर्धी गयाप्रसाद थारूले २०५ मत प्राप्त गरे।

मधेसी सदस्यतर्फ गौतमप्रसाद पाण्डेले २२३ र सञ्जयकुमार गुप्ताले २१५ मत प्राप्त गरी विजयी भए। यस समूहमा आनन्दप्रसाद वर्माले १७३, सत्यनारायण वर्माले १३२ र बाबुराम यादवले ९३ मत प्राप्त गरे भने नौसिन खातिमा निर्विरोध निर्वाचित भएका थिए ।

त्यसैगरी, समावेशी समूहअन्तर्गत खस आर्य सदस्यमा ८ जना निर्विरोध निर्वाचित भएका छन् भने क्षेत्रगत सदस्यतर्फका अधिकांश पदमा मतदानमार्फत नै नयाँ नेतृत्व चयन गरिएको निर्वाचन समितिले जनाएको जानकारी गराएको छ ।

नवनिर्वाचित सभापति शालिकराम घिमिरे २०७९ को निर्वाचनमा रूपन्देहीबाट एमाले नेता विष्णु पौडेलसँग प्रतिस्पर्धा गरेका थिए । उनी केन्द्रीय मानव अधिकार विभागका सदस्य हुन् ।