राइड सेयरिङः नियमावली स्थगन भएको होइन

राइड सेयरिङ चलिरहेको छ तर अव्यवस्थित भयो भनेर हामीले पहल गरेको हो । पठाओ, इन्ड्राइभजस्ता एप कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता त भएका छन् । ती एप प्रयोग गरेर चलाएका भेहिकल कति छन् त्यसको जिम्मेवारी के के हो ? त्यसले कसरी चलाउनुपर्थ्यो कुनै पनि कुरा उल्लेख नै छैन ।

यसरी नै काठमाडौं र पोखरा लगायत सहरमा सेयर राइडिङ चलिरहेका छन् । त्यो विशेषगरी युवाका बीच पपुलर पनि छ, ट्रान्सपोटेसनका लागि । त्यसैलाई हेरेर हामीले एपमा सेक्युरिटी फिचर थप्ने भनेका छौं । कुन प्यासेन्जर कहाँबाट कहाँ गइरहेको छ भन्ने कुरा तेस्रो व्यक्ति अर्थात् अभिभावक वा आफन्तको मोबाइलमा पनि आउन सक्ने गरी सेट गर्नुपर्ने हुन्छ । कहाँबाट कहाँ जान लागेको भनेर त अहिले पनि थाहा हुुन्छ, तर विशेष गरी महिलाको सुरक्षाका लागि हामीले यस्तो प्रबन्ध गर्न लागेको हो । कहिलेकाँही महिलामाथि दुर्व्यवहार हुनसक्छ भनेर यसो गर्न लागिएको हो ।

अर्को चार पांग्रेमा यात्रुको बिमा हुन्छ मोटरसाइकलमा समेत यात्रुको वीमालाई अनिवार्य गरिएको छ । अरु धेरै कुरा छन्, मेन फोकस यी दुईवटा विषयमा गरिएको हो । अर्को कुरा राइड सेयरिङबाट प्रदेशलाई पनि केही राजस्व आओस् भन्ने हो । त्यसका लागि हामीले शुल्क पनि तोकेका छौं । मानौं पठाओ वा अरु कुनै एपवालाले हामीकहाँ चलाउन आउँछु भन्यो भने, कम्पनी रजिस्ट्रारको कार्यालयका अतिरिक्त गण्डकीको यातायात व्यवस्था कार्यालयमा पनि दर्ता हुनुपर्छ कि हामी यो क्षेत्रमा सञ्चालन गर्छु भनेर ।

त्यसका लागि दर्ता र वार्षिक शुल्क तोकिएको छ । अनि एपवालामात्र दर्ता भएर भएन, त्यसअन्तर्गत चल्ने दुई र चार पांग्रे सवारी साधन पनि हाम्रो कार्यालयमा दर्ता हुनुपर्छ । ती सवारी दर्ताका लागि पनि थोरै रकम तोकिएको छ । जो राइडर हो, उसले एप कम्पनीलाई नेगोसिएसनका आधारमा १० प्रतिशत बुझाउँछ । दुई प्रतिशत सामाजिक सुरक्षाका लागि र एक प्रतिशत प्रदेश सरकारलाई राजस्व बुझाउनुपर्छ ।

हामीले सामान्य हिसाब गर्दा यसबाट बर्सेनि ३० देखि ४० करोड रुपियाँसम्म आम्दानी हुन्छ भन्ने अनुमान गरेका छौं । यो हाम्रा लागि ठूलो रकम हो, अहिले पनि सेयर राइडिङ आखिर त्यत्तिकै पनि चलेकै छन् । यसका बारेमा एकडेढ वर्षदेखि यातायात व्यवसायीसँग हामी छलफलमै छौं । पोहोर कार्यविधि आउँदैछ भनेको हो । हावाकै तालमा उहाँहरुले हड्ताल गर्नुभयो, म उपचारका क्रममा दिल्लीमा थिएँ, यहाँ हड्ताल भएछ । तर हामीले एक्सरसाइज भने गरिहेका थियौं । उतिबेलै निरन्तर सम्वाद भइरहेको थियो । म दिल्लीमा भएकाले अहिले तत्काल कार्यविधि आउँदैन भनेपछि उहाँहरु हड्तालबाट पछि हट्नुभयो ।

पछि पनि समिति नै बनाएर उहाँहरुसँग हामीले चरणबद्ध रुपमा छलफल गरेकै थियौं, उहाँहरुसँग नमिलेको एउटा कुरा के थियो भने, रातो प्लेटवालाले यात्रु बोक्न पाइँदैन भनेर । हाम्रो भनाइ के भने रातोलाई दिन त यो कानुन बनाइएको हो । कालो प्लेटवालाले त यात्रु बोकिरहेकै छन् नि । ट्याक्सीको काम नै यात्रु बोक्ने हो । त्यसो भए यात्रु बोक्ने भनेर कसरी चिन्ने भनेर उहाँहरुले प्रश्न गरेपछि राइड सेयरिङवाला सवारीमा चिह्न राख्ने निधो गरियो । यो राइड सेयरिङवाला सवारी हो भन्ने चिन्न सकियोस् भनेर त्यसो गर्न लागेको हो । उहाँहरुले दिनै पाइँदैन भनेर अडान लिइरहनु भयो । दिनै पाइँदैन भनेपछि अन्तिममा निर्णय गर्ने बेलामा सायद उहाँहरु उपस्थित हुनुभएन जस्तो लाग्छ मलाई । प्रतिवेदन बुझाउने बेलामा उहाँहरु सही गर्न आउनुभएन । यो त उहाँहरु र हाम्रोबीच मिल्दै नमिल्ने कुरा भयो ।

संसारमा रातै प्लेटवालाले राइड सेयर गर्ने हो । यसको कम्सेप्ट त कसरी आएको हो भने, हामी आफ्नो गाडी लिएर यात्रा गरिहेका छौं, कोही मान्छे त्यतितिर जानुपर्ने छ भने उसलाई पनि लिएर जाने अर्थात् लिफ्ट दिने हो । पछिपछि लिफ्ट दिएवापत पैसा लिन थाले । पहिला पहिला लिफ्ट दिएवापत धन्यवाद् भनेर छुट्टिने गरेकामा पछि मेरो गाडी चढेवापत थोरै भए नि पैसा देऊ न त भन्न थालिएको हो । यो हाम्रो होइन युरोपतिरबाट आएको कन्सेप्ट हो । यो चलन बढेपछि व्यावसायिक रुप लिन थालेर पठाओ, इन्ड्राइभजस्ता एपहरु सञ्चालनमा आएका हुन् ।