काठमाण्डौमा कांग्रेस महाधिवेशन शुरु

बुटवल, मंसिर २४ गते । नेपाली कांग्रेसको १४ औं महाधिवेशन काठमाण्डौमा शुरु भएको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा उद्घाटन भएको हो । उत्साह, एकता, रुपान्तरण सफल बनाऔं नेपाली कांग्रेसको १४ औं महाधिवेशन भन्ने मूल नाराका साथ शुरु भएको महाधिवेशनको उद्घाटन सत्रमा नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष तथा सांसद दुर्गा पौडेल, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, नेकपा (माले)का महासचिव सीपी मैनाली सहितका नेताहरुले कांगे्रसको महाधिवेशनलाई सम्बोधन गरेका छन् । त्यस्तै भारत लगायत विभिन्न देशबाट राजनीतिक दलका नेताहरु पनि कांग्रेस महाधिवेशनलाई शुभकामना दिन आएका छन् । भृकुटी मण्डपमा शुरु भएको महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न सांस्कृतिक झलकहरु पनि प्रदर्शन गरिएको छ । ४ हजार ४ सय महाधिवेशन प्रतिनिधिको महाधिवेशनमा सहभागिता भएको नेपाली कांगे्रसका प्रवक्ता विश्वप्रकाशले बताए। प्रवक्ता विश्वप्रकाशका अनुसार महाधिवेशन प्रतिनिधिबाहेक देशभरबाट कांग्रेस नेता कार्यकर्ता काठमाण्डौमा जम्मा भएका छन्। कोरोना भाइरस महामारीको जोखिम कायमै रहेका कारण नेपाली काँग्रेसले सुरक्षा सावधानी अपनाउन र मास्क तथा सेनीटाईजरको अनिवार्य प्रयोग गर्न नेता कार्यकर्तालाई आग्रह गरेको छ। नेपाली काँग्रेसको महाधिवेशन कार्यतालिका अनुसार शनिबारदेखि नयां नेतृत्वको लागि उम्मेद्वारी मनोनयन दर्ताको कार्यक्रम शुरु हुनेसमेत कांगे्रसका प्रवक्ता विश्वप्रकाशले बताए।