ज्येष्ठ सदस्य केसीले आज शपथ लिँदै


काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई आज पद तथा गोपनीयताको शपथ गराउँदै छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा बिहान ११ः१५ बजे शपथ ग्रहणको विशेष कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित सदस्यहरूमध्ये नेपाली कांग्रेसका सांसद केसी सबैभन्दा ज्येष्ठ सदस्य हुन्। उनी समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। निर्वाचनमा प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० गरी कुल २७५ सदस्यहरू निर्वाचित भएका छन्।
संवैधानिक व्यवस्था अनुसार राष्ट्रपतिबाट शपथ लिएपछि ज्येष्ठ सदस्य केसीले भोलि अर्थात् चैत १२ गते बिहीबार अन्य नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ ।
























