प्यूठानमा जन्ती बोकेको गाडी दुर्घटना हुंदा आठ जनाको मृत्यु

पांचजना घाइतेको बुटवल र भैरहवामा उपचार

बुटवल,माघ२२गते। प्यूठानको गौमुखी गाउंपालिकामा बेहुला बेहुलीसहित जन्ती बोकेको जीप दुर्घटना हुंदा ८ जनाको मृत्यु भएको छ । नौबहिनी गाउंपालिका वडा नम्बर ६ लुङ बाहानेबाट बेहुली लिएर गौमुखी गाउंपालिका वडा नम्बर ६ लिवाङ जांदै गरेको ग १ ज ५०९२ नम्बरको जीप ओखरपाटामा शनिबार राती दुर्घटनामा परेको स्थानीयले बताएका छन् । जीप सडकदेखि ३ सय मिटर तल खोल्सामा खसेको थियो ।दुर्घटनामा परि एकै परिवारका श्रीमान, श्रीमती र छोरीसहित ८ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा गौमुखी गाउंपालिका वडा नं. ६ जिनाबाङका ३९ वर्षीय वसन्त खड्का, उहांकी श्रीमती ३९ वर्षिय वसन्ती खड्का र बसन्त र बसन्ती खड्काकी ११ वर्षीया छोरी एलिसा खड्का रहेको गौमुखी गाउंपालिकाका ंअध्यक्ष विष्णु गिरीले जानकारी गराउनुभएको छ ।

त्यस्तै जीप चालक ५० वर्षीय बलबहादुर बुढा मगर, २९ वर्षीया केशरी खड्का, ३२ वर्षीय खिम खत्री, ५० वर्षीया नन्दी खड्का र नौबहिनी गाउंपालिका ६ लुङकी १८ वर्षीया विपना जीसीको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुने बसन्त खड्का नेपाली कांगे्रस गौमुखी गाउंपालिकाका उपसभापति हुनुहुन्छ । स्थानीय बरुणध्वज मल्लका अनुसार दुर्घटनामा परि बेहुला २५ वर्षीय दानबहादुर खड्का, बेहुली १९ वर्षीया रीमा जीसी, २१ वर्षीय हरि बुढा मगर, १७ वर्षीय नरेश खड्का र २५ वर्षीया सावित्रा जीसी घाइते हुनुभएको छ । बेहुलीको एउटा हात चुडिएको छ । दुर्घटनामा परी गम्भीर गम्भीर घाइते बेहुली रीमा जीसीको भैरहवास्थित मेडिकल कलेजजमा उपचार भैरहेको छ ।

अन्य घाईते चारमध्ये ३ जनाको बुटवलस्थित मर्शिसिटी अस्पताल र अर्का एकजनाको बुटवलकै लुम्बिनी सिटी अस्पतालमा उपचार भैरहेको छ । बेहुला दानबहादुर खड्का र सावित्रा जीसीको जिल्ला अस्पताल विजुवारमा उपचारपछि अहिले भैरहवा मेडिकल कलेज र बुटवल लुम्बिनी सिटीमा थप उपचार भैरहेको छ । प्यूठान प्रहरी प्रमुख सत्यनारायण थापाका अनुसार घटनास्थल विकट भएको र रातीको समय भएकाले मानवीय क्षति बढी भएको बताउनुभयो । गौमुखि गाउंपालिकाका अध्यक्ष विष्णु गिरीले पानी परेको अवस्था र रातीको समयमा दुर्घटना भएकाले उद्वारमा ढिलाई हुंदा धेरै जनाले ज्यान गुमाउनु परेको बताउनुभयो ।जन्ती गएकाहरू दुर्घटनामा परेपछि प्यूठानको गौमुखि गाउंपालिकाको लिवाङ गाउं शोकमा डुवेको छ । शनिबार उउसोदेखि रातभर परेको पानीका कारण बाटो चिप्लो भएकाले दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।

उक्त दुख्द घटनाप्रति लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी,प्यूठानमा क्रियाशील राजनीतिक दल नेकपा मसाल, राष्ट्रिय जनमोर्चा, नेकपा एमाले, नेपाली कांगे्रस लगायतका विभिन्न राजनीतिक दल, प्यूठानबाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा सांसद दुर्गा पौडेल,प्यूठान रुपन्देही सम्पर्क मञ्चका अध्यक्ष श्यामलाल पोखरेल, सचिव प्रदीप जीसी र प्यूठानमा क्रियाशील अन्य विभिन्न सामाजिक संघसंस्थाहरुले विज्ञप्ती निकाली दुख् व्यक्त गरेका छन् ।